पहिरोले चार सवारी बगायो, आठ घरमा क्षति

भदौ ३०, मुग्लिन ।
पहिरोले चितवनमा चार सवारी साधन बगाएको छ । यसैगरी आठ घरमा क्षति पुर्याएको छ ।

अविरल वर्षासँगै सोमबार राति खसेकोे पहिरोले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिए ।

वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत पहिरोले क्षति पुर्याएको उनले बताए । गुरुङका अनुसार अहिले ती आठ घर–परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।

पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । (रासस)