रक्सी खान नदिएको भन्दै चक्कु प्रहार गरी छोराको हत्या

भदौ ३०, वीरगञ्ज ।
आफूलाई रक्सी खान नदिएको निहुँमा पर्सामा एक बाबुले आफ्नै छोराको हत्या गरेका छन् । पोखरीया नगरपालिकाका ७० वर्षिय लक्ष्मी साहले सोमबार ३५ वर्षिय छोरा माधो साहको हत्या गरेका हुन् ।

माधोले बुवालाई रक्सीको कुलत छुटाउन वरपरका पसलेहरूलाई समेत रक्सी नदिन भनेका थिए । तर पनि लक्ष्मीको बानि सुध्रिएको थिएन । उनी दिनहुँ रक्सी खाने र घरमा झै–झगडा गर्ने गर्दथे ।

सोमबार सात बजेतिर पनि रक्सीले मात्तिएका बेला छोराले ‘किन रक्सी खाएको’ भन्दै हप्काएपछि उनले आवेशमा माधोमाथि चक्कु प्रहार गरेका थिए । कोखामा चक्कुले प्रहार गरेपछि गम्भीर घाइते माधोलाई नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लक्ष्मीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।