प्रधानमन्त्री देउवाले मागे विश्वासको मत, यस्तो छ अङ्कगणित

साउन, ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् ।

पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो वैठकमा उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरेका हुन् ।

देउवाले विश्वासको मत मागेपछि त्यस विषयमा प्रतिनिधिसभामा रहेका दलका नेताहरुले धारणा राखिरहेका छन् ।

यसअघि माधव पक्षका २६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारी बुझाएका थिए । तर पछि प्रतिनिधि सभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्चमा दिएको मुद्दामा भने माधव पक्षका २३ जना सांसदले मात्रै हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले आज संसदमा विश्वासको मत मागेका हुन् ।

गत असार २८ को फैसला अनुसार यसपटक दलीय ह्वीप नलाग्ने भएकाले जुनसुकै पार्टीका सांसदले पनि विश्वासको मत दिन सक्नेछन् ।

पछिल्लो समीकरण अनुसार नेपाली काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, राष्ट्रिय जनमोर्चाका १ र जसपाका ३२ जना सांसद प्रधानमन्त्री देउवाको पक्षमा छन् ।