कोरोनाको मारमा इन्टिच्यूटहरु, १५ महिनादेखि घर भाडा मात्र तिर्दै

चासो दिदैनन् सरोकारवाला

साउन १५, फिदिम । कम्प्युटर, भाषा र ट्युसन पढाउने इन्टिच्युटहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको अत्याधिक मारमा परेका छन् । पाँचथरको सदरमुकाम फिदिममा मात्र अहिले ९ वटा इन्टिच्युटहरु सञ्चालनमा छन् । महामारीको समयमा अन्य व्यवसायहरु पूर्ण र आंशिक रुपमा सञ्चालन भइरहे पनि इन्टिच्युटहरु भने ठप्प छन् ।
विगत लामो समयदेखि संचालनमा रहेको ‘न्यू मिलिस्टार कम्प्युटर इन्टिच्यूट’का सञ्चालका केशव पौडेलका अनुसार विगत १५ महिनादेखि घर भाडा मात्र तिर्नु परेको छ । उनी भन्छन्– ‘पहिलो लकडउनदेखि हामी घर धनिलाई भाडा मात्र तिर्न वाध्य छौं । हामी प्याकेजमा कम्प्युटर सिकाउछौं । कतिपय विद्यार्थीको कोर्ष कम्प्लीट गर्न पाइएन । पढाउन नपाएपछि कतिपय विद्यार्थीको पैसा समेत फिर्ता गर्नु पर्यो ।’
पौडेलले अहिले घर भाडा र स्टाफलाई मासिक रुपमा पैसा दिइरहनु परेको गुनासो गरेका छन् । उनले भने–‘अहिलेसम्म यो लकडाउनको अवधिमा करिव पाँचलाख घाटा भएको छ । परिवार पाल्नसमेत समस्या छ । यहि एउटा माध्यम थियो । त्यो पनि यतिका महिना भइसक्यो कमाई खाने ठाँउ नै बन्द भयो । अब बन्द गरेर बस्नु पर्ने हो की के गर्नु पर्ने हो अन्योल छ । बन्द गरेर पनि के पो गर्नु ?’
त्यस्तै फिदिममा नै सञ्चालमा रहेको ‘सोलुसन एजुकेशन फाउण्डेशन’का सञ्चालक घनेन्द्रराज मिश्रका अनुसार २०७७ चैतदेखि निरन्तर घर धनी र कर्मचारीलाई मासिक भुक्तानी दिइराख्नु परेको छ । उनी भन्छन–‘मेरो त कोरोनाका कारण व्यावसाय डामाडोल नै भयो । १० लाख भन्दा बढी घाटा भइसक्यो । सरोकारवालाले केही चासो दिदैनन् । अव के गर्नु पर्ने हो अन्योल भयो ।’
त्यस्तै फिदिममा नै भाषा कक्षा सञ्चालन गर्दै आएका ‘पाथिभरा कम्प्युटर एण्ड ल्याङ्वेज सेन्टर’का सञ्चालक युवराज अधिकारीको पनि गुनासो उस्तै छ । उनको पनि अहिलेसम्म ७ लाख भन्दा बढी नोक्सानी भइससक्यो । कर्मचारी लाई र घर धनिलाई नियमित पैसा दिइराख्नु परेको छ ।
फिदिममा सञ्चालनमा रहेका सबै इन्टिच्यूटको अवस्था उही छ । उनीहरुको एउटै स्वर छ । ‘हामी पिडत भयौ, सरकारवालाले ध्यान दिएनन् ।’
इमान्दारीका साथ सरकारले विभिन्न चरणमा गरेको निषेधाज्ञाको पालना गरिरहेका उनीहरुको अवस्था दयनिय नै भएको बुझिन्छ । अन्य व्यवसायहरु पूर्ण र आंशिक रुपमा सञ्चालन भइरहदा इन्टिच्युटहरु सञ्चालन गर्न नपाएको मारमा रहेको उनीहरु बताउछन् ।
फिदिममा रहेका उनीहरुले शुक्रबार जिल्लाको सरोकार वाला निकायमा ज्ञापन पत्रसमेत बुझाएका छन् । उनीहरुले स्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने अनुरोध सहितको ज्ञापन पत्र बुझाएका छन् । आज जिल्ला प्रशासन कार्यालय पाँचथर, फिदिम नगरपालिका र उद्योग वाणिज्यसंघ पाँचथरमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा अन्य ५० बढी कर्मचारीहरु वेरोजगार भएको उल्लेख गरेका छन् ।
उनीहरुले यस्ता इन्टिच्युट सञ्चालक र कार्यालयमा कार्यरत कर्मचारीलाई खोप दिनुपर्ने, घरभाडामा सहुलियतका लागि पहल गरीदिन तथा स्थानीय तहहरुलाई उचित राहतको व्यवस्था गरीदिन अनुरोध गरेका गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा स्वास्थको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्नका लागि यथासिघ्र नीतिगत व्यवस्था गर्न माग गरेका छन् ।