पाँच दिनदेखि बेपत्ता पूर्व प्रहरी सहायक निरीक्षक अर्जुन थापा

परिवारको एउटै प्रश्न–‘न सास, न लास, कहाँ हुनुहुन्छ बाबा?’

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट, चापापानी निवासी नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक (सई) अर्जुन थापा रसुवा हुँदै चीन जाने क्रममा पाँच दिनदेखि सम्पर्कविहीन भएपछि परिवार गहिरो चिन्तामा परेको छ।

वि.सं. २०३२ सालमा जन्मिएका थापाले नेपाल प्रहरीमा करिब ३० वर्ष सेवा गरेका थिए। प्रहरी सेवाबाट अवकाश लिएपछि उनी रोजगारीका सिलसिलामा चीन जाने तयारीमा थिए।

परिवारका अनुसार थापाले नक्साल, गैरीधारास्थित सम्राट ट्रेकिङ ट्राभल्स एन्ड टुर्समार्फत भिसालगायतका प्रक्रिया पूरा गरेका थिए। उनी भदौ ९ गते काठमाडौंबाट रसुवातर्फ गएका थिए। सोही दिन साँझ धुन्चेमा बसेका उनी भदौ १० गते बिहान टिमुरे पुगेका थिए।

टिमुरेस्थित इमिग्रेसन पुगेपछि उनले बिहान करिब ८ बजे श्रीमती मिना थापालाई फोन गरेर ‘हामी अब चीन जाँदैछौँ’ भनेर जानकारी गराएका थिए। त्यसपछि भने उनको मोबाइल सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

त्यसै दिन रसुवा क्षेत्रमा भीषण बाढी–पहिरो आएको खबर सार्वजनिक भएपछि परिवार थप चिन्तित बनेको हो। पाँच दिन बितिसक्दा पनि थापा जीवित वा मृत रहेको कुनै जानकारी परिवारले पाउन सकेको छैन।

‘कतै बाबाको नाम समाचारमा आउँछ कि भनेर दिनभरि मोबाइल हेर्छौँ’

अर्जुनकी श्रीमती मिना थापा तथा छोरीहरू अन्जु र आशिका थापा अहिले उनको खोजीको पर्खाइमा छन्। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार भइरहेको र विभिन्न स्थानमा शव फेला परेको खबर सार्वजनिक भइरहेका बेला परिवारका सदस्यहरू हरेकपटक मोबाइल र समाचारतर्फ आँखा लगाउने गरेका छन्।

‘कतै बाबाको नाम पो आउँछ कि? जीवितै उद्धार हुनुभएको खबर पो आउँछ कि?’ भन्ने आशामा परिवार दिनरात बिताइरहेको छ। श्रीमती मिना श्रीमान् सकुशल फर्किने आशामा छिन्। तर पाँच दिनसम्म पनि कुनै खबर नआएपछि परिवारको पीडा झनै गहिरिएको छ।

गोरखामा रहेका अर्जुनका वृद्ध आमाबुवासमेत छोराको अवस्थाबारे जानकारी नपाउँदा विक्षिप्त बनेका छन्। परिवारका अनुसार छोरा बेपत्ता भएको खबरपछि उनकी आमाको स्वास्थ्य अवस्था कमजोर भएको छ।

‘३० वर्ष देशको सुरक्षा गरेका बाबालाई खोज्न राज्यले विशेष पहल गरोस्’

अर्जुनका छोरीहरूले आफ्ना बुबाले नेपाल प्रहरीमा रहेर करिब ३० वर्ष देश र जनताको सुरक्षामा योगदान गरेको भन्दै अहिले विपद्को समयमा उहाँको खोजी तथा उद्धारमा राज्यले विशेष प्राथमिकता दिनुपर्ने माग गरेका छन्।

उनीहरूले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा रसुवामा खोजी तथा उद्धारमा खटिएका टोलीलाई अर्जुन थापाको खोजीलाई प्राथमिकतामा राखेर तत्काल खोजतलास तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।

‘हामीलाई न सासको खबर छ, न लासको। पाँच दिनदेखि उहाँको पर्खाइमा बसेका छौँ। हाम्रो बुबा कतै घाइते अवस्थामा उद्धारको प्रतीक्षामा हुनुहुन्छ कि, कतै सुरक्षित ठाउँमा सम्पर्कविहीन भएर बस्नुभएको छ कि भन्ने आशा अझै छ।

सरकारले उहाँको खोजीमा गम्भीरतापूर्वक पहल गरिदियोस्,’ छोरीहरूले भावुक अपिल गरेका छन्।

‘फोटो देख्नुभयो भने जहाँ भए पनि खबर गरिदिनुहोस्’

परिवारले अर्जुन थापाको फोटो तथा विवरण सार्वजनिक गर्दै रसुवा, टिमुरे, धुन्चे वा अन्य कुनै स्थानमा उहाँलाई देख्ने, भेट्ने वा उहाँबारे कुनै जानकारी प्राप्त गर्ने व्यक्तिलाई तत्काल परिवार वा सम्बन्धित निकायलाई खबर गरिदिन आग्रह गरेको छ।

बाढी–पहिरो प्रभावित रसुवा क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेका बेला पूर्व प्रहरी कर्मचारीसमेत रहेका थापाको अवस्था तत्काल पत्ता लगाई परिवारलाई सत्यतथ्य जानकारी गराउन राज्यका सम्बन्धित निकाय र सुरक्षा संयन्त्रसँग परिवारले आग्रह गरेको छ।