साउन, २० काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नदी पार गर्दा गर्दै तुइनको डोरी कादिएपछि महाकाली नदीमा खसेर दार्चुलाका जयसिंह धामी वेपत्ता भएको पाँच दिन बित्यो ।
यो बीचमा नेपाल सरकार र भारत सरकारको बीचमा उच्चस्तरको वार्ता भएको औपचारिक जानकारी छैन । कुटनीतिक पहल भएको वा नेपालले कुनटीतिक नोट पठाएको पनि जानकारीमा छैन ।
यहि विषय सोमबार राष्ट्रिय सभामा र मंगलबार प्रतिनिधिसभामा प्राथमिकताका साथ उठ्यो । सून्य र विशेष समयमा बोल्ने सबैजसो सांसदले दार्चुला घटनालाई अमानवीय घटनाका रुपमा चित्रण गरे ।
तर, दार्चुला घटनाबारे संसदलाई जानकारी गराउँदा र सांसदहरुको प्रश्नको जवाफ दिँदा गृहमन्त्री बालकृष्ण खाँणले ‘एसएसबी’ हब्द नै उच्चारण गरेका छैनन । जबकी एसएसबीले नै तुइनको डोरी काटेर जयसिंह धामीलाई नदीमा खसालेको प्रत्यक्षदर्शीले बताइरहेका छन ।
दार्चुला घटना घटेको पाँच दिन सम्म पनि खोजतलासका लागि नेपाल र भारतको संयुक्त टोली बन्न सकेको छैन ।
कांग्रेस सांसद दिलेन्द्र बडूले दार्चुला घटनाबारे नेपाल र भारत दुवैतर्फबाट छानबिन गर्नुपर्ने बताए । ‘प्रत्यक्षदर्शीसँग सम्पर्क भयो कि भएन ? पक्ष विपक्ष भन्दा पनि सत्यतथ्य स्थापित गर्नुपर्छ’ उनले भनेका छन ।
कांग्रेस सांसद देवेन्द्र राज कँडेलले पनि दार्चुला घटनामा नेपाल र भारतका संयुक्त खोजबिन टोली किन बनाइएन भनी प्रश्न गरे ।
‘बोर्डरमा समस्या हुँदा दुबै पक्ष बसेर समझदारी गर्छ । सुरक्षा निकायको बैठक बस्छ । संयुक्त छानविन गर्ने कुरा हुन्छ । तर, त्यहाँ त्यो भएन किन ? त्यस्तो संयुक्त टोली बनाइएन किन ? कँडेलले प्रश्न गरे ।
सांसद कंडेलले नेपाल सरकारले भारतमा रहेको नेपाली दुतावासका अधिकारीहरुले यो घटनाको सम्बन्धमा उच्चस्तरीय वार्ता र संवादका लागि के कस्तो पहल गर्यो भन्ने प्रश्न पनि राखेका थिए । ‘दिल्लीमा राजदुतावास छ । राजदुतावासमा सुरक्षा निकाय पनि तैनाथ छन । त्यो भारतमा भएको घटनालाई उनीहरुको माध्यमबाट पनि पहल हुन सकेको छैन ।’ उनले भने ।
किन भएन उच्चस्तरीय वार्ता ?
दार्चुला घटना घटेको पाँच दिन सम्म पनि राजनीतिक र कुटनीतिक पहल हुन नसकेको भनी प्रश्न उठिसकेको छ ।
कांग्रेस सांसद देवेन्द्र राज कँडेलले नेपाल सरकारले भारतमा रहेको नेपाली दुतावासका अधिकारीहरुले यो घटनाको सम्बन्धमा उच्चस्तरीय वार्ता र संवादका लागि के कस्तो पहल गर्यो भन्ने प्रश्न गरेका छन ।
‘दिल्लीमा राजदुतावास छ । राजदुतावासमा सुरक्षा निकाय पनि तैनाथ छन । त्यो भारतमा भएको घटनालाई उनीहरुको माध्यमबाट पनि पहल हुन सकेको छैन ।’ उनले भने ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदहरुले पनि दार्चुला घटनाका सन्दर्भमा नेपाल सरकारको पहलकदमीका सन्दर्भमा खरो रुपमा प्रश्न गरेका छन ।
‘दार्चुलामा नेपाली सवार तुइन काटिएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार निमुखो तरिकाले प्रस्तुत भएको एमालेका सांसद खगराज अधिकारीको टिप्पणी छ ।
संसदमा दार्चुला घटनाबारे गृहमन्त्रीको फितलो प्रस्तुती सुनेपछि सांसद अधिकारीले भने, ‘यो निमुखो तरिकाले बोलेर हुँदैन । नेपाल कहिले पनि कसैको उपनिवेश भएर हामी बसेको होइन । भारतसँग यो घटनाबारे गम्भीर भएर कुरा उठाउनुपर्छ । सरकारले यो कुराको पनि जवाफ पनि दिनुपर्छ ।’
एमाले सांसद विशाल भट्टराईले दार्चुला घटना भारतीय दादागिरीको उदाहरण भएको बताए । र नेपालको सीमामा भारतीय हस्तक्षेप बारम्बार हुने गरेका कारण अब दिर्घकालिन समाधान खोजिनुपर्ने उनको भनाइ छ ।
‘हामीलाई चिन्दा कालापानी, लिपुलेक र लिम्पियाधुराको पनि छ । सीमा समस्यामा दिर्घकालिन रुपमा नै समाधान खोजिनुपर्छ’ उनले भने ।
नेकपा एमालेका अर्का सांसद पदम गिरीले सरकारले भारत सरकारसंग कुरा गर्न नसकेको टिप्पणी गरे ।
‘सबैले भनिरहेका छन एसएसबीले तुइनको डोरी काटिदिएको छ । तर, सरकार बोल्दैन । नाकाबन्दी हुँदा नाकाबन्दी हो भन्न नसक्नेको नेतृत्व अहिले सरकारमा छ’ उनले भने, ‘जयसिंह धामीको हत्या हो हत्या भन्न सक्नुपर्छ ।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले दार्चुला घटनाबारे प्रधानमन्त्री स्तरमा वार्ता हुन आवश्यक रहेको बताए ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीसंग प्रधानमन्त्री शेरबहादुर देउवाले कुरा गर्नुभयो ? किन गर्नुभएन ?’ उनले भने, यो घटनाबारे उच्चस्तरमा राजनीतिक वार्ता र कुटनीतिक पहल आवश्यक छ ।’
‘आफ्ना नागरिकका लागि लागि भारत ४ बर्ष लडेको इतिहास छ’
सांसदहरुले इतिहासमा आफ्ना नागरिक अर्को देशका नागरिकले हत्या गर्दा ३÷४ वर्षसम्म लडेको लडाईं स्मरण गरेका छन । र भारतले आफ्ना नागरिकका लागि लडे झैँ नेपाल किन नलड्ने भन्ने आशयका साथ प्रश्न गरेका छन । यस्तो प्रश्न गर्ने स्वमं सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापा एक हुन ।
सन् २०१२ मा भारतको केरलामा इटालीका मनिसहरूको गोलीबाट दुई जना भारतीय मछुवाको हत्या भएको थियो । उक्त घटनामा आफ्ना नागरिक मारिएपछि भारतीय सरकारले तीन चार वर्षसम्म लगातार कानुनी लडाईं लडेको थियो ।
भारतको यहि इतिहास सुनाउँदै कांग्रेस सांसद थापाले भने, ‘जयसिंह धामीको सम्बन्धमा सत्यतथ्य बाहिर आइसकेपछाडि जसरी भारत सरकार इटालीसँग लड्यो, हाम्रो सरकार भारतसँग त्यसैगरी जमेर, डटेर लड्छ भन्ने कुराको विश्वास माननीय गृहमन्त्रीज्यूले हामीलाई कसरी दिलाउनु हुन्छ ?’
जयसिंह धामीको घटनामा भातरीय पक्षले भारतीय सीमा सुरक्षा बलको संलग्नता नरहेको भन्ने जिकिर ग¥यो भन्ने मिडियामा आएको छ, सत्य के हो ? भन्ने प्रश्न पनि थापाले गरेका थिए । नेपालको छानबिन समितिलाइ भारतले कस्तो सहयोग गर्ला ? भन्ने उनको अर्को प्रश्न थियो । तर, यी प्रश्नको जवाफ थापाले संसदबाट पाउन सकेनन ।
यस्तै, प्रमुख प्रतिपक्षी एमाले सांसद सूर्य प्रसाद पाठकले दार्चुलामा जस्तै सीमामा अन्य देशको नागरिक भएको भए के हुनथयो भनी प्रश्न गरे ।
‘एसएसबीले तुइन काटिदिएपछि जयसिंह धामीको हत्या भयो । यदि चीनको नागरिक, बेलायतको नागरिक भएको भए राजदुतलाई बोलाएर सोधिन्थ्यो’ सांसद पाठकले भने, ‘त्यसकारण अविलम्ब नेपाल सरकारले भारत सरकारसंग कुरा गरोस् ।’
जयसिंह धामीको एसएसबीबाट सुनुयोजित रुपमा हत्या भएको भनी नेपाल सरकारले यो घटनामा जति गम्भिरता प्रकट गर्नुपर्ने हो त्यो नगरेको उनको भनाइ रहेको छ ।







