असोज १, काठमाडौं ।
विश्वभर नै कोरोना महामारीका कारण अर्थतन्त्रमा असर परेको छ । यस्तोमा नेपालको वित्तीय क्षेत्र पनि प्रभावित बनेको छ ।
नेपालमा दशैंतिहार जस्ता चाडपर्व नजिकिएसँगै बढ्ने आर्थिक गतिविधि हालसम्म खासै चलायमान देखिएको छैन । वित्तीय संस्थाका विभिन्न ‘स्किम’ र ‘अफर’ पनि यस वर्ष सुरु भइसकेका छैनन् ।
तर बैंकहरूले भने दशैं नजिकिँदै गर्दा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । देशका ६ बैंकहरूले सस्तोमा सवारी तथा घर कर्जा दिनेगरी ब्याजको प्रतिशत सार्वजनिक गरेका छन् ।
राष्ट्रिय वाणीज्य बैंक
यस बैंकले घरकर्जामा ७.३ देखि ८.८ प्रतिशतसम्म ब्याजदर तोकेको छ । ५ देखि १० वर्षसम्मका लागि योजना ल्याएर यो ब्याजदर तोकिएको हो । गाडी कर्जामा भने आधारदरमा ३.२५ र विद्युतीय सवारी साधनमा १.५० प्रतिशतसम्म थप ब्याज लिन पाउने व्यवस्था छ । यसको आधारदर भने ५.८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
माछापुछ्रे बैंक
यस बैंकले १०.६९ देखि १३.६९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । हालको आधारदर ८.६९ प्रतिशतमा ५ प्रतिशतसम्म ब्याजदर थपेर घर तथा सवारी कर्जा दिनसक्ने बैंकले बताएको छ ।
मेगा बैंक
यसले घर, सवारी तथा शिक्षा कर्जाको नाममा १३.३ प्रतिशत ब्याजदर लिने भएको छ । यस बैंकको आधारदर ८.३० प्रतिशत छ । मेगाले एक वर्षसम्मका लागि फिक्स्ड ब्याजदरमा पनि कर्जा प्रवाह गर्ने भएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंक
हाल आधारदर ७.४९ प्रतिशत राखेको इन्भेस्टमेन्ट बैंकले ७ वर्षे घर कर्जाको १०.५० प्रतिशत र १० वर्षे कर्जाको १२.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसैगरी बैंकले ७ र १० वर्षे सवारी कर्जाको ब्याजदर क्रमशः ११ र १३ प्रतिशत निर्धारण गरेको छ ।
नबिल बैंक
यस बैंकले आफ्नो आधारदर ७.१९ प्रतिशतमा अधिकतम ५ प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकको ३६औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष सुरु भएको पहिलो त्रैमासिकमा ऋण लिनेका लागि एक वर्षसम्म ब्याजदर परिवर्तन हुनेछैन ।
एनसिसी बैंक
आधारदर ९.०३ प्रतिशत रहेको यस बैंकले ११.०३ देखि १४.०३ प्रतिशतसम्म ब्याज लिने बताएको छ । सवारी कर्जाका लागि १३.०३ र घर कर्जामा १४.०३ प्रतिशत ब्याज तिर्नुपर्ने बताइएको छ ।
एभरेस्ट बैंक
७.४८ प्रतिशत आधारदर रहेको यस बैंकबाट सवारी र घर कर्जा लिँदा १२.४८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ ।







