एमालेको बटमलाइन ः ओलीसंग प्रधानमन्त्री र सभामुखले एक्ला एक्लै नभेटी निकास निस्कन्न

असोज, १५ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टी अधयक्ष केपी शर्मा ओलीसंग प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले एक्ला एक्लै नभेटी निकास ननिस्कने अडान राखेको छ ।

बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नगएको एमालेले यस्तो बटमलाइन राखेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताए ।

‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन्, ती मुद्दाहरुको बारेमा सत्तापक्षले वा सभामुखज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकाले डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साँच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौंैं,’ उनले भने ।

नेता भट्टराईले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छाडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून विपरीत रहेको बताए ।

एमालेकै सांसद खगराज अधिकारीले संसदको अवरोध हटाउने प्रारम्भिक बिन्दु नै प्रधानमन्त्री देउवा र सभामुख सापकोटाको आफ्नो पार्टीका अध्यक्ष ओलीसंग एक्ला एक्लै भेट भएको बताए ।

सभामुख र प्रधानमन्त्रीले आफ्नो पार्टी अध्यक्षसंग एक्लाएक्लै भेटेपछि समस्या समाधानको उपाय निस्कन्छ भनेर सुझाएको तर, आफुहरुको सुझाव विपरित प्रधानमन्त्री र सभामुखले सर्वदलीय बैठक बोलाएकाले दुबै सर्वदलीय बैठकमा एमाले सहभागि नभएको उनको भनाइ छ ।

‘हाम्रो सुझाव नसुनेर सभामुखले पनि सर्वदलीय बैठक भनी बोलाउनुभयो गएनौं । प्रधानमन्त्रीले पनि बोलाउनुभयो हामी गएनौं’ उनले भने ।

अब पनि प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टी अध्यक्षसंग एक्लाएक्लै भेटेर संसदको अवरोध हटाउने पहलको सुरुवात गर्नुपर्ने उनको भनाइ छ । ‘यो अवरोध (संसदमा जारी नाराबाजी) साँच्चै नै खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेता, संवैधानिक परिषदको सदस्य हो । व्यक्तिगत रुपमा भेट्नुस् अधिकारीले भने ।

सत्तारुढगठबन्धन र प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेको ५२ जनाको नियुक्ति खारेज गर्न लागि परेको भन्दै सांसद अधिकारीले त्यो नियुक्ति खारेज गरे फेरि नियुक्ति गर्न नसकिने पनि बताएका छन् ।

उहाँ(प्रधानमन्त्री)ले नियुक्ति (संवैधानिक आयोगहरुमा ओली नेतृत्वको सरकारले गरेको ५२ जनाको नियुक्ति)खारेज गर्दै हुनुहन्छ, अनेक उपाय गर्दै हुनुहुन्छ’ सांसद अधिकारीले थपे, ‘फेरि नियुक्ति हुँदैन किनभने प्रमुख प्रतिपक्ष दल जाँदैन त्यहाँ (संवैधानिक परिषदको बैठकमा) यस्तो जान्दा जान्दै किन निहुँ खोज्नुहुन्छ ? त्यसकारण व्यक्तिगत रुपमा भेट्नुस त्यसपछि मात्रै सर्वदलीय बैठक राख्नुस ।’

सांसद अधिकारीले आफ्नो पार्टीको अध्यक्षसंग प्रधानमन्त्रीले एक्लै भेटेपछि मात्रै संसदको अवरोधका विषयमा छलफल हुने पटक–पटक दोहो¥याएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीजीले विपक्षी दलको नेतासंग उहाँले वार्ता संवाद गर्न सनुहुन्न ?’ उनले भनेका छन् ।

बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजानुको अर्को कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सहभागिता पनि रहेको सांसद अधिकारीले बताए । माधव नेपाल नेतृत्वको पार्टी अवैधानिक भएको जिकिर गर्दै उनले त्यसलाई वैधाता दिने गरी आयोजित बैठकमा एमाले नजाने बताए ।