मुस्लिम समुदायका लागि छुट्टै कबरिस्तान खोजिँदै

असोज १, काठमाडौं ।
उपत्यकामा मुस्लिम समुदायको अन्तिम संस्कारका लागि छुट्टै कबरिस्तान खोजी भइरहेको छ । कोरोनाका कारण ज्यान गएमा बेग्लै स्थानमा मृत्यु संस्कार गर्न भन्दै स्थानको खोजी गर्न लागिएको हो ।

मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । बुधबार मन्त्रीपरिषद् कार्यालय, गृह मन्त्रालय, सुरक्षा निकाय र स्थानीय तह सम्मिलित समिति गठन भएको हो ।

केही दिन अघि एक जना मुस्लिम समुदायका संक्रमितको मृत्यु हुँदा स्वयम्भूस्थित कबरिस्तानमा शव गाड्न खोज्दा स्थानीयले अवरोध गरेका थिए । यस कारण ४ दिनसम्म उनको शव व्यवस्थापन गर्न सकिएको थिएन ।

बस्तीभन्दा टाढा, स्थानीयलाई गाह्रो नपर्नेगरी स्थान सुझाउने जिम्मा समितिलाई दिइएको छ । छलफलका क्रममा भट्टेडाँडा, शिवपुरी, नागार्जुन डाँडा, फर्पिङ लगायतका स्थानको सम्भावना औंल्याइएको छ ।