कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नियुक्ति दिन प्रस्ताव

१ असोज, काठमाडौं । काठमाडौं । कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि मन्त्रीपरिषद बैठकमा प्रस्ताव पेश भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नियुक्ति दिन प्रस्ताव गरेको जनाएको छ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयको जानकारी दिएका हुन् ।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले गत सोमवारको मन्त्रिपरिषद बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गरेको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको उनले बताएका छन् ।

चापागाईंले भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरेका छन् ।