जनयुद्ध र दशैं

मन्त्री ज्यु टिका लगाउनुहुन्छ कि नाँई ?

लगाउँछु । यसपाली मेरो दशैं यतै (काठमाडौं) मै हुन्छ ।

टिका लगाउन त अप्ठेरो लाग्दैन होला ……

हल्का मुस्कान .. हैन जनयुद्धको समयमा दश वर्ष टिका लाइएन । शान्ती प्रक्रियामा आएपछि टिका लाउन थालिएको हो । लगाउँछौं ।

(२४ असोजमा मन्त्रालयमा एक मन्त्रीसँगको अनौपचारिक कुराकानीको छोटो अंश)

तत्कालीन सशस्त्र जनयुद्धमा माओवादी नेताहरुले दशैं मनाउँदैनथे । शान्ति प्रक्रियामा आएपछि धेरैले केहीवर्ष दशैंको टिका लगाएनन । माओवादी जनयुद्धका सुप्रिमो पुष्प कमल दाहाल प्रचण्डले पनि त्यही गरे ।

तर, केही वर्ष पहिले प्रचण्डका छोरा प्रकाशले भान्जा भान्जीसहित पूरै परिवारले दशैंको अवसरमा टिका लगाएको तस्विर सार्वजनिक गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्तालाई दशैंमा मासुमा राख्ने गरम मसला जस्तै हुन पुग्यो । मिडियाले आफ्नै स्वादमा प्रचण्डले दशैंको टिका लगाएको विषयलाई पस्किए । एक प्रकारले प्रचण्डले टिका लगाउनु ठीक कि वेठीक भन्नेमा बहस नै चल्यो ।

२२ वर्षदेखि दशैं नमान्ने र टीका नलगाउने परम्परामा क्रमभंगता गरेका प्रचण्डको निधारमा दशैंको रातो टीका टल्किएपछि धेरैले धेरै थरीकोणबाट हेर्नु वा बहस गर्नु स्वभाविक पनि थियो । किनभने, जनयुद्धको समयमा माओवादीहरु दशैंलाई छिछि र दुर दुर गर्दथे । तर, अघिल्लो वर्ष टिका लगाएपछि प्रचण्डले दशैं मान्दैनन् भन्दै उनी र तत्कालीन उनको दलको धर्म, संस्कृति र आचरणबारे प्रश्न÷शंका गर्ने नागरिकहरु भने सकारात्मक हुन पुगे । उनका लागि त्यो लाभदायक नै रह्यो ।

प्रचण्डलाई देखेर दशैं मनाउन छोड्ने र प्रचण्डले दशैंको टिका लगाउन थालेपछि फेरि टिका लगाउन सुरु गर्ने मानिसहरुको संख्या पनि धेरै छ ।

सिन्धुलीका विरबहादुर पौडेल क्षेत्री (नाम परिवर्तन) ले २०५३ सालबाट दशै÷तिहार बनाउन छोडे । २०५१ सालबाट माओवादी जनयुद्ध सुरु भए देखि नै माओवादीमा लागेकाहरुले दशैं तिहार मनाउन छोडेका थिए । माओवादीप्रति आस्था राख्नेहरुले पनि त्यसै गरे ।

बिरबहादुरका दुई छोरा माओवादीमा होमिए । पछि उनको छोरी पनि जनयुद्धमा सामेल भइन् । उनका दुई छोरा र एक छोरी हुन् । तीनै जना माओवादीमा होमिँदा बिरबहादुर खुसी थिए । माओवादीले देशमा परिवर्तन ल्याउँछ भन्ने उनलाई लागेको थियो । यहि आशा र विश्वासमा उनले चाडपर्व मनाउ छोडे । श्राद्ध गर्न छोडे । मन्त्री जाने पुजा गर्ने कुरा पर गयो । आफन्तले किन यस्त्तो गरेको भन्दा बिर बहादुर भन्थे, प्रचण्डले चाडपर्व मनाउँदैनन् हामी किन मनाउने । चाडपर्व मनाउने, श्राद्ध गर्ने यस्ता कार्य कम्युनिस्टले गर्दैनन् ।

तर, अहिले परिस्थिति बदलियो । माओवादी जनयुद्धका नेतृत्वकर्ताले नै दशैं मनाउन थाले । बिरबहादुरका दुई छोरा एक एक छोरीले माओवादी जनयुद्धकै क्रममा जनवादी विवाह माओवादी युद्धमा सामेल भएकैहरुसंग गरे । बिरबहादुरका तीन सन्तानका परिवार अहिले काठमाडौं बस्छन् । विरबहादुर गाउँमै बस्छन् । अहिले बिरबहादुरको परिवार दशैंमा भेटघाट गर्छन, टिकाटालो गर्छन र दशैं मनाउँछन् । एक छोरा भन्छन्, जनयुद्धभरी टिकाटालो हुने कुरा भएन । शान्ति प्रक्रिया पछि पनि केही बर्ष लगाइएन । हामीले भन्दा पनि नातीहरुको कारणले बुबाले टिका लगाउन थाल्नुभयो । सबैले लगाउँछन हामी किन ? भन्ने प्रश्नमा प्रचण्डले त लगाउन थाले भन्ने भयो ।

पहिले किन ? अहिले किन ?

यसवर्ष पनि प्रचण्डले आफ्नै निवास खुमलटारमा दशैं मनाउँदैछन् । तत्कालीन माओवादीका अधिकांस नेताहरुले पनि दशैं मनाउँदैछन् । तत्कालीन एमाले सहितका कम्युनिष्ट नेताहरुले पनि विगतमा पनि दशैं बहिष्कार गरेको खासै सुनिएका छैनन् । तर, कम्युनिष्ट भन्ने बित्तिकै त्यो व्यक्ति नास्तिक हो भन्ने बुझाई अझै छ । समयक्रममा तिनै उग्र भनिएका कम्युनिष्टहरु प्रजातान्त्रिक मुलधारमा आएका छन् । पछिल्लो उदाहरण माओवादी आन्दोलन र त्यो बेलाका नेताहरुको अभिव्यक्ति र हालको अभिव्यक्तिलाई तुलना गर्दा धेरै विषयहरु स्वतः प्रष्टिन्छन् ।

उग्र भनिएका कम्युनिष्ट नेताहरु अर्थात तत्कालीन माओवादी नेताहरु प्रचण्ड, बाबुरामहरु प्रजातान्त्रिक अभ्यासमा छन् । अर्थात जनताको मन जितेर राजनीति गर्ने राजनीतिक संकारमा छन् । यो संकार अवलम्बन गरेपनि ति जनताको संस्कृति कुल्चेर हुन्ने भन्ने चेता नेतृत्वमा आएका हुनुपर्छ । यहि कारण हामी सबै धर्म संस्कृतिको सम्मान गछौं भन्ने उनीहरुका धारणा आइरहेका छन् ।

अहिले पनि छिटफुट त्यस्ता समुहहरु देखिन्छन् जो चाडपर्वको औचित्यमाथि प्रश्न उठाउँछन् । एकले अर्कोको संस्कृतिको सम्मान गर्र्ने बहु संस्कृतिको धनी भनेर चिनिने वा चिनाइने देशमा यस्ता गतिविधि किँन हुन्छन् वा भए होलान ? जिज्ञासा स्वभाविक उठ्छ ।

तत्कालीन माओवादी नेता दिनानाथ शर्मा पार्टीले कहिल्यै नीतिगित निर्णय गरेर दशंै नमनाउने निर्णय नगरेको र तत्कालीन परिस्थितिमा दशैं मनाउने, आराम गर्ने, मोजमस्ती गर्ने, खसी काट्ने वातावरण नै नभएको जिकिर गर्छन ।

‘घर परिवार छोडेर कहाँ कहाँ वन जंगलमा बस्ने मान्छेले कसरी दशैं मनाउने ? त्यसकाराण त्यो बेला हामीलाई परिस्थितिले दशैं मनाउने वातावरण दिएन’, उनी भन्छन्, ‘अहिले हिजोको जस्तो घर छोड्न पर्ने, जंगलमा वस्नुपर्ने वातावरण छैन् । सहज वातावरण छ । त्यसकारण सहज वातावरणमा आ–आफ्ना किसिमले आफुले चाहे अनुसार दशंै मनाउन सक्छन् ।’

त्यसो हो भने पनि जनयुद्ध बिसाएर बिस्तृत शान्ति सम्झौता मार्फत शान्ति प्रक्रियामा आएपछि किँन नेताहरुले केही वर्ष दशैं मनाएनन ? स्वमं प्रचण्डले २२ वर्ष सम्म दशैंको टिका बहिष्कार किँन गरे होला ? तर, यस्ता प्रश्नको उत्तर दिन स्वमं तत्कालीन माओवादी नेताहरु तयार हुँदैनन । कारण त्यहि परिस्थिति ! ‘हाम्रा संस्कृतिहरुलाई कसरी विकशित गर्ने, उन्नत गर्ने भन्ने कुरामा त्यसको प्रगगिशील पक्ष, वैज्ञानिक पक्षलाई आत्मसाथ गर्र्नुपर्छ । गतिपय रुढीवादी अन्धग्रस्त छन् । त्यसलाई त्यही ढङ्गले व्याख्या विश्लेषण गर्नुपर्छ’, नेता शर्मा भन्छन्, ‘त्यसकारण निरपेक्ष रुपमा कुनै चिजहरुलाई छोड्ने, निरपेक्ष रुपमा कुनै चिजहरुलाई ग्रहण गर्ने भन्दा पनि सापेक्ष रुपमा त्यसको वैज्ञानिक महत्व के हो, त्यसको परम्परा कसरी चल्यो । भन्ने बुझेर संस्कृतिलाई विकशित गरेर लिएर जाने अहिलेको आवश्यकता हो ।’