काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि कोषमा रहेको रकम तथा हालसम्म भएको निकासाबारे जानकारी गराएका हुन् ।
उनका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
उक्त रकममध्ये हालसम्म १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको प्रधानमन्त्री शाहले बताए । प्रभावित स्थानीय तहमा प्रत्यक्ष बजेट पठाएर राहत, उद्धार तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा उपलब्ध स्रोत तथा साधनको अधिकतम परिचालन गर्दै नागरिकको जिउधनको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।






