१ असोज, काठमाडौं । पर्वतारोहणका लागि नेपाल आइपुगेका बहराइनका राजकुमारसहितको टोली होटल क्वारेन्टाइनमा बसेका छन् । सरकारले निर्धारण गरेको मापदण्डअनुसार उक्त टोली ७ दिने क्वारेन्टाइनमा बसेका छन् । उनीहरु गोकर्ण फरेष्ट रिसोर्ट रिजर्भ गरी बसेका हुन् ।
कोभिडका कारण करिब ६ महिनादेखि बन्द रहेको पदयात्रा तथा पर्वतारोहण औपचारिक रुपमा नखुलेपनि बहराइनका राजकुमारसहितको टोली सरकारको विशेष अनुमतिमा पर्वतारोहणका लागि बुधबार काठमाडौं आइपुगेका थिए ।
गत भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतारोहणका लागि विशेष अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार १९ सदस्यीय टोली नेपाल आइपुगेको हो । १८ जनामा बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफा, १५ जना बहराइनका रोयल गार्ड र ३ जना बेलायती नागरिक रहेका छन् ।
बहराइनस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको प्रस्तावपछि सरकारले विशेष अनुमति दिएको पर्यटन सचिव केदार बहादुर अधिकारीले जानकारी दिएका छन् । सेभेन समिट टे«ेकले उक्त भ्रमणको आयोजना गरेको हो । चार्टर्ड फ्लाइट सहित नेपालमा पर्वतारोहणका लागि अनुमति दिइएको उनले बताए ।
‘सःशुल्क उहाँहरुको टोली करिब २ महिना नेपाल बस्नेछ,’ सचिव अधिकारीले बताए । ९ जना गाइड, टोली नेता, सम्पर्क अधिकृत गरी करिब १५ जना थप टोलीमा समावेश गरि सुरुमा खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम छ । ६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहणको प्रतिव्यक्ति राजस्व १२५ अमेरिकी डलर तोकिएको छ ।
यसका साथै गोरखा जिल्लामा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि पनि राजकुमारको टोलीले पर्यटन विभागमा निवदेन दिएको महानिर्देशक रुद्र तामाङले जानकारी दिए ।







