असोज २, इलाम ।
जिल्लाका युवाहरूले रोबोट निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्न मिल्ने उक्त रोबोट निर्माण गरेका हुन् ।
निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्स डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए ।
उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ । कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि उक्त रोबोट निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने फुयाँलले बताए ।
सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदी मिलेर उक्त रोबोट निर्माण गरेका हुन् ।
फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उनीहरूले राजधानीमा समेत समेत विज्ञान प्रविधि सम्बन्धित प्रदर्शन गर्ने गरेको बताएका छन् । रोबोटको प्रयोगले चिकित्सक र नर्सहरूले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ ।
रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने छन् ।
रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले हालसम्म झन्डै एक लाख १० हजार रूपैयाँ खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेका हुन् । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काको भनाइ छ । (फाइल फोटो)







