पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

असोज २, नारायणगढ ।
नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा शुक्रबार बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोसँगै झरेको लेदोले करिब सय मिटर सडक ढाकेको उनले जानकारी दिए । पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ ।

पहिरो खसेपछि उक्त सडकखण्ड हँुदै चल्ने सवारी साधन बाटोमै रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि नै पटकपटक पहिरो खस्दै आएको छ ।
(रासस)