सिरहामा पाँच सय १४ कैदीमा कोरोना देखियो

कारागार नै आइसोलेसन

असोज २, सिरहा ।
जिल्ला कारागार सिरहाका आधाभन्दा बढी कैदीमा कोरोना संक्रमण देखिएको छ । कारागारमा रहेका झन्डै आठ सय कैदीबन्दीमध्ये पाँच सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म सात जना संक्रमणमुक्त भएको निमित्त कारागार प्रमुख बबिता महतोले जानकारी दिइन् । पर्याप्त आइसोलेसन अभावमा कारागारलाई नै आइसोलेसन बनाइएको छ । हालका लागि संक्रमण नदेखिएका व्यक्तिका लागि छुट्टै राख्न वैकल्पिक स्थान खोजिरहेको कारागारले जनाएको छ ।

साउन २५ मै जबरजस्ती करणी र लागूऔषध मुद्दामा पुर्पक्षका लागि ४ व्यक्तिलाई कारागार ल्याइएको थियो । उनीहरूको कोरोना परीक्षण नतिजा त्यो समय आइसकेको थिएन । तर उनीहरूको नजिता पोजिटिभ देखिएपछि उनीहरूको सम्पर्कमा गएका अन्य व्यक्तिको पनि कोरोना परीक्षण गरियो । त्यस क्रममा उनीहरूमध्ये तीन जना पोजिटिभ देखिए ।
यसरी उनीहरूबाटै अन्य कैदी र कर्मचारी समेत संक्रमित भएको हुनसक्ने अनुमान गरिएकोछ । क्वारेन्टाइनमा हुनेका लागि खाना ल्याउने तथा सफा गर्ने व्यक्तिबाट पनि संक्रमण जेलमा फैलिएको हो ।