असोज २, काठमाडौं ।
कक्षा १२ को परीक्षा विधि सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले दुई विकल्प शिक्षा मन्त्रालयमा पेश गरेको छ । बोर्डका प्रवक्ता दुर्गाप्रसाद अर्यालका अनुसार बोर्डले विभिन्न शिक्षा क्षेत्रका सरोकारवालासँग भर्चुअल छलफल गरी मुख्य दुई विकल्प छानको हो ।
‘हामीले एक हजारभन्दा बढी सरोकारवालासँग संवाद गरेका थियौं । जसमा आठ सुझाव आए,’ अर्यालले भने, ‘यीमध्ये दुई वटालाई विकल्पका रूपमा पेश गरेका छौं ।’ कोरोना महामारीका कारण वैशाखमा हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएको थियो ।
पहिलो विकल्प अनुसार परम्परागत विधि अनुसार नै चरणबद्ध परीक्षा लिइनेछ । कम संक्रमण फैलिएको जिल्लामा पहिलो चरणमा परीक्षा सञ्चालन गर्ने र त्यसपछि बढी फैलिएको जिल्लामा परीक्षा लिने बोर्डले विकल्प दिएको छ ।
यस अनुसार छुट्टाछुट्टै जिल्लाका लागि चरण अनुसार बेग्लाबेग्लै प्रश्नपत्र तयार गरिनेछ । यद्यपि परीक्षा लिँदा सुरक्षित दुरी कायम गर्ने र स्वास्थ्य मापदण्ड पुुरा गर्नुपर्ने शर्त हुनेछन् ।
यसैगरी दोस्रो विकल्प अनुसार एक सय पूर्णांकको परीक्षामा केही लिखित र केही प्रयोगात्मक परीक्षा लिइनेछ । केही अभ्यास अर्थात् प्राक्टिकल वर्क दिने र परीक्षार्थीलाई घरमै त्यो गृहकार्य गर्न लगाइ त्यस अनुसार अंक दिइनेछ । बाँकी परीक्षाका लागि भौतिक उपस्थिति आवश्यक पर्ने गरी दोस्रो विकल्प मन्त्रालयलाई सुझाइएको छ ।







