अब सामाजिक सञ्जालबाट भएको आम्दानी वैधानिक रुपमा नेपाल ल्याउन पाइने

असोज २, काठमाडौं ।
सामाजिक सञ्जालबाट भएको आम्दानी अब वैधानिक रूपमै नेपाल ल्याउन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन वित्तीय सेवमार्फत विदेशबाट आउने पैसालाई नेपालका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्थाहरूमार्फत नेपाल ल्याउन पाइने जनाएको छ ।

यससँगै सामाजिक सञ्जाल फेसबुक, युट्युब जस्ता अन्य विभिन्न माध्यमबाट आय गर्नेले आफ्नो आम्दानी वैधानिक रूपमै नेपालमा ल्याउन सक्नेछन् । सूचना प्रविधि सम्बन्धित दक्षता, विज्ञताको निकासी–बिक्रिबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यवसायिक कारोबारबाट प्राप्त रकम नेपाल ल्याउन मिल्ने राष्ट्र बैंकले जनाएको छ ।

तर यसरी विदेशबाट गरिएको कारोबारमा निश्चित प्रतिशत रकम रोयल्टिबापत तिर्नुपर्ने हुन्छ । साथै बैंकको विदेशी विनियम विभागका निर्देशन समेत पालना गर्नुपर्ने बताइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले ल्याएको रकम सम्बन्धी विवरण सम्बन्धित वित्तीय संस्था वा सेवा प्रदायकले पाक्षिक रूपमा राष्ट्र बैंकलाई दिइरहनुपर्नेछ ।