चितवनमा दुई संक्रमितको मृत्यु

असोज २, चितवन ।
कोरोना संक्रमणका कारण जिल्लामा उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिका घर भएका अन्दाजी ५५ वर्षीय पुरुषको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी सूचनामा मिर्गाैलाको डायलासिस गराइरहेका उनमा भदौ १८ मा कोरोना पुष्टि भएको बताइएको छ ।

उनमा खोकीसँगै स्वाशप्रस्वासमा समस्या देखिएको थियो । भदौ २३ गतेदेखि कोभिड–१९ सघन उपचार कक्षमा उपचार गराइरहे उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचारत एक अर्का पुरूषको पनि मृत्यु भएको छ । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर दयाराम लम्सालका अनुसार नवलपुरको देवचुली नगरपालिका–११ निवासी ३१ वर्षीय पुरुषको बिहीबार राति सवा १२ बजेपछि मृत्यु भएको हो ।

उनको स्वासप्रस्वासमा समस्या देखिएपछि उनी भदौ २५ मा अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनमा कोरोना संक्रमण देखिएको थियो ।

सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको लम्सालले जानकारी दिए । हालसम्म जिल्लामा उपचारका क्रममा र घरमा गरी मृत्यु हुने कोरोना संक्रमितको संख्या २९ पुगेको छ । जसमध्ये चितवनका १७ जना छन् ।