प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

कात्तिक, ३० काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिदै छन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा नियमावलीअनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए । राई १६ कात्तिकमा मुख्यमन्त्री बनेका थिए ।

एमालेबाट मुख्यमन्त्री बन्नु भएका भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता राई मुख्यमन्त्री बनेका थिए ।

राई पाँच दलीय गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ५० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्सीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मन्चका १ गरी ५० सांसद छन् ।

एमालेसँग ४१ जना सांसद छन् ।