असोज ३, काठमाडौं ।
कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढेको देखिएको छ । मुलुकभर कोरोना संक्रमित संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिन थालेको हो ।
यसको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत संक्रमण बढ्दो छ । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीमा नै संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।
स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ जस्ता कार्यमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन पुगेको बताए । उपत्यकामा अहिलेसम्म १५ हजार एक सय ३८ जना संक्रमित भएका छन् ।
शुक्रबार मात्रै आठ सय ५९ जनामा संक्रमण देखिएको थियो । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको छ । अस्पतालका कोभिड–१९ व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला एक सय ५० भन्दा धेरै स्वास्थ्यकर्मीमा कोरोना देखिइसकेको छ ।
तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोगी रहेका छन् । उनले संक्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए । अहिले उक्त अस्पतालमा २७ जना मात्र स्वास्थ्यकर्मी सक्रिय संक्रमित रहेको तथ्यांक छ ।
यस्तै वीर अस्पतालमा एक सय १५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा. केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् ।
यसरी संक्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको सेञ्चुरीले बताए । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा संक्रमण भेटिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स रहेका छन् ।
अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्स निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिए । अहिले मुलुकभरि ६१ हजार पाँच सय ९३ जनामा कोरोना देखिएको छ । ४३ हजार आठ सय २० जना निको भएर घर फर्किसकेको र तीन सय ९० जनाको कोरोनाबाट मृत्यु भइसकेको तथ्यांक छ । (रासस)






