असोज ४, काठमाडौं ।
कोरोना महामारीको कारण देखाउँदै निजी विद्यालयहरूले शिक्षकलाई तलब नदिइ राखेको शिक्षकहरूले बताएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले महामारीमा अनलाइन कक्षाको शूल्क लिँदै आएका विद्यालयले समेत आफ्ना शिक्षकहरूलाई महिनौंदेखि तलब नदिइ राखेको छ ।
उनका अनुसार महामारीमा तीन हजार हाराहारी निजी विद्यालयमा पढाउने शिक्षक निष्काशित भएका छन् । विशेष गरी कक्षा ११ र १२ मात्र पढाइ हुने विद्यालयबाट शिक्षक निकालिएका छन् । यसैगरी अतिरिक्त क्रियाकलाप सञ्चालन गराउने शिक्षक समेत बेरोजगार बनाइएको उनले बताए ।
धेरैजसो शिक्षकले पछिल्लो ६–७ महिना यता तलब नै पाएका छैनन् । केहीले भने निश्चित प्रतिशत पाइरहेका छन् । थापका अनुसार अनलाइन कक्षा भन्दै अभिभावकबाट शूल्क असुल्ने विद्यालयले समेत आफ्ना शिक्षकलाई तलब नदिएको अवस्था छ ।
पछिल्लो समय नाम चलेका केही ठूला विद्यालयहरूले निश्चित प्रतिशत मात्र तलब दिइरहेका छन् । अरुबेला चर्को शूल्क असुल्ने विद्यालय यस समय अनलाइन कक्षाका नाममा पैसा उठाइरहेका छन् । तर धेरैले शिक्षकलाई भने बेरोजगार बनाएको थापाको भनाइ छ ।







