सञ्चारकर्मीको मृत्यु नभइ हत्या भएको परिवारको दाबी

असोज ४, धनगढी ।
सामुदायिक वनमा झुन्डिएको अवस्थामा भेटिएकी कैलालीकी सञ्चारकर्मीले आत्महत्या नगरेको उनको परिवारजनको भनाइ छ । स्थानीय रेडियोमा कार्यरत २२ वर्षियाा निर्मला पहराइको हत्या भएको उनीहरूको दाबी छ ।

मृतक निर्मलाका दाइ विशालले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नी बहिनीको हत्या भएको बताएका छन् । उनले प्रहरीले घटनाको छानबिन नथालेसम्म पोस्टमार्टम गर्न नदिने अडान लिएका छन् ।

उनी भदौ ३१ बाट सम्पर्कविहीन भएकी थिइन् । नजिकैको फूलबारी सामुदायिक वनमा उनको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको थियो । घटनामा अनुसन्धानका लागि भन्दै प्रहरीले स्थानीय ललित जाग्रीलाई नियन्त्रणमा लिएको छ ।