कांग्रेस महाधिवेशन : मतपरिणाम आउन एक साता बढी समय लाग्ने

मंसिर, २६ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् । शनिवार मनोनयन दर्ता भएको छ । आइतबार दाबी विरोध र फिर्ताको प्रक्रिया चल्नेछ । आइतवार ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । सोमवार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका छ । त्यसपछि बाँकी रहेका उम्मेदवारको नामावली प्रकाशित गरेर त्यसै आधारमा मतपत्र तयार गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार एक साताभित्रै मतगणनाको परिणाम सार्वजनिक गरिसक्ने लक्ष्य छ । अघिल्लो १३ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यहरूको मत परिणाम आउन दुई हप्तासम्म लागेको थियो ।

निर्वाचन अधिकृत एकराज पोखरेलले मतगणना सक्न बढीमा १० दिनसम्म लाग्न सक्ने बताए । सबैभन्दा अन्तिममा खुला केन्द्रीय सदस्यको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

मतदान गर्न एक जनालाई आधा घण्टा

कांग्रेसको जारी महाधिवेशनमा एक जना मतदाताले पदाधिकारी सहित १३४ जना उम्मेदवारका लागि २९ वटा मतपत्रमा मतदान गर्नुपर्ने छ । र एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि आधा घण्टादेखि एक घण्टासम्मको समय लाग्न सक्ने निर्वाचन समितिका संयोजक घिमिरेले बताए ।

मतदाताको भिडका आधारमा मतदानको अन्तिम समय निर्धारण गरिने निर्वाचन समितिले जनाएको छ।

मतदाताले हरेक मतपत्रमा आफ्नो उम्मेदवारको नामसँगै ठिक चिन्ह लगाएर मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ।

कांग्रेसले वडा अधिवेशनदेखि नै उम्मेदवारका नाममा ठिक चिन्ह लगाएर मतदान गर्दै आएको छ।

मतदान स्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ।

तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ।

कुन पदमा कति उम्मेदवारी ?

सभापति र महामन्त्रीमा ६÷६ जनाको उम्मेदवारी परेको छ । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।

उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् ।

महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् ।

८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।

महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

यस्तै, सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको छ ।

महिलातर्फको खुला ९ पदका लागि ३१ जना, दलिततर्फ ९ पदका लागि ३९, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी ९ जनाका लागि ३२ जना, थारु ४ जनाका लागि १४ जना, मुस्लिम ३ जनाका लागि १६ जना, पिछडिएको क्षेत्रको १ पदमा २ जना, अल्पसंख्यक १ पदका लागि ६ जना र अपांग १ पदका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने ३ केन्द्रीय सदस्य पदका लागि प्रदेश १ बाट १३, प्रदेश २ मा ५, बागमतीमा ९, गण्डकीमा ७, लुम्बिनीमा ११, कर्णालीमा ७ र सुदूरपश्चिमबाट १२ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा जित्न ५० प्रतिशत बढी मतआवश्यक

कांग्रेसको पार्टी विधानमा सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ। कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नआएको अवस्थामा सबैभन्दा बढी मत आउने दुई जना उम्मेदवारबीच पुनः मतदान गरिनुपर्छ।

सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सकेर बाँकी उम्मेदवारको मतगणना भने कांग्रेस पार्टी कार्यालय सानेपामा गर्ने निर्वाचन समितिको तयारी छ ।