त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिमध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिकल इन्जिनियर सञ्जय साहले सुरुङभित्र रहेका अन्य व्यक्तिहरू पनि सकुशल रहेको जानकारी दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सुरुङबाट बाहिरिएलगत्तै साहले उद्धारकर्मीलाई आफूहरूसँगै रहेका सबै व्यक्ति सुरक्षित अवस्थामा रहेको र उद्धारको प्रतीक्षामा रहेको बताएका थिए।

यसैगरी उद्धार टोलीले सुरुङबाट कविर महर्जनलाई पनि जीवितै बाहिर निकालेको छ। साह र महर्जनको घटनास्थलमा खटिएको नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण गरेको छ। दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

सुरुङभित्र अझै रहेका व्यक्तिहरूको उद्धारका लागि टोलीले निरन्तर प्रयास गरिरहेको छ। उद्धार गरिएका व्यक्तिहरूले भित्र रहेका सबैजना सकुशल रहेको जानकारी दिएपछि बाँकी व्यक्तिहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकाल्न सकिने आशा बढेको छ।

उद्धार कार्यलाई तीव्र बनाउँदै सुरुङभित्र रहेका सबै व्यक्तिलाई सुरक्षित रूपमा बाहिर ल्याउने प्रयास भइरहेको छ।