असोज ४, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलमा हानिकारक केमिकल मिसावट गरेको आरोपमा चार चालकलाई कारवाहीका लागि सिफारिश गरेको छ । निगमले चार जना चालकले मिसावट गरेको भन्दै कालोबजारी तथा केही अन्य सामाजिक ऐन अनुसार कारवाही गर्न पत्र पठाएको छ ।
निगमका अनुसार यसरी आरोपितमध्ये तीन जनालाई अमलेखगञ्ज डिपो र एक जनालाई थानकोट डिपोबाट पक्राउ गरिएको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई मुद्दा चलाउन पत्र लेखिएको छ । निगमले पहिलोपल्ट यसरी कारवाहीका लागि सिफारिश गरेको हो ।
यस अघि चेतावनी, जरिवाना जस्ता कारवाही मात्र हुने गरेको थियो । एक साता अघि निगमले गरेको गुणस्तर परीक्षणमा ४ हजार लिटर पेट्रोलमा मिसावट भेटिएको थियो । लगत्तै ट्यांकर चालक सन्तोष खड्कालाई बारा प्रहरीको जिम्मा लगाइएको थियो ।
ढुवानीकर्ता रामचन्द्र मिश्र रहेको अर्को १२ हजार लिटरको ट्यांकरमा पनि मट्टितेल जस्तो देखिने वस्तु मिसाएको भेटिएको थियो । त्यहीँ परीक्षणका क्रममा सुरेन्द्र श्रीवास्तवले चलाएको ४ हजार लिटरको ट्यांकरमा पनि मिसावट भेटिएपछि कारवाही गरिएको हो ।
थानकोट डिपोमा गुणस्तर परीक्षणका क्रममा प्रमेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको हो । बरौनीबाट ल्याएको पेट्रोलमा मिसावट भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्रमार्फत मुद्दाका लागि सिफारिश गरिएको हो । उक्त ऐन अनुसार वस्तुको गुणस्तर घटाउँदा ९ महिना कैद र दुई लाख रूपैयाँसम्म जरिवाना हुन सक्छ ।
पेट्रोलमा यस्तो मिसावट हुँदा इञ्जिन बिग्रने समेत हुन्छ । यसले इञ्जिन सिजसमेत हुनसक्ने निगमले जनाएको छ । उनीहरूलाई भदौ ३० गते पक्राउ गरिएको हो । मिसावट गर्ने अन्य केही व्यक्ति फरार छन् ।







