जोखिमयुक्त बस्तीबारे वालिङमा अध्ययन समिति गठन

असोज ४, स्याङ्जा ।
जिल्लाको वालिङ नगरपालिकाले बस्ती विस्थापित गर्ने वा नगर्ने अध्ययनका लागि समिति बनाएर काम थालेको जनाएको छ । नगर कार्यपालिकाको ५७औँ बैठकले वडा नं १३ का अध्यक्ष आनन्द पाठकको संयोजकत्वमा इन्जिनीयरसहितको आठ सदस्यीय समिति बनाएको हो ।

नगरपालिकाका १४ वटा वडामा पहिरोका कारण जोखिममा परेका बस्ती विस्थापित गर्नुपर्ने वा नपर्ने त्यसको अध्ययन गर्न समिति बनाइएको छ । अध्ययन समितिले प्रतिवेदन तयार गरी कार्यपालिकामा बुझाउनुपर्ने नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

अध्ययन समितिलाई विस्थापित गर्नैपर्ने बस्ती र तिनीहरुलाई विस्थापित गर्नुपर्ने सम्भावित सुरक्षित स्थानको खोजी गरी नगर कार्यपालिकामा प्रस्ताव गर्ने जिम्मेवारी दिइएको उनले बताए । ‘नगरपालिकाभित्रका १४ वटा वडाबाट जोखिममा परेका घरपरिवारबाट निवेदन प्राप्त भइरहेका छन्’, नगरप्रमुख खाँणले भने, ‘प्राप्त निवेदनहरूका आधारमा समितिलाई भौगोलिक अध्ययन गर्न र जग्गाको खोजी गरी सिफारिस गर्नका लागि एक महिनाको समयावधि दिएका छौँ ।’

प्रस्तावित बस्ती तथा जग्गाको भूगर्भविद्को सहयोगमा नगरपालिकाले अध्ययन गरेर आवश्यक निर्णय लिने नगरप्रमुख खाँणको भनाइ छ । भूगर्भविद्को भौगोलिक अध्ययनपश्चात् उनीहरूले दिएको प्रतिवेदनका आधारमा पायक पर्ने स्थानमा एकीकृत बस्ती बसालिने योजना रहेको छ ।