असोज ५, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ।
प्याजको मूल्य बढी लिएको भन्दै जिल्लाका पाँच व्यवसायीलाई कारवाही गरिएको छ । भारतले निर्यातमा लगाएको प्रतिबन्धलाई बहाना बनाएर चर्को मूल्यमा प्याज बेचेकाले उनीहरूलाई जरिवाना तिराइएको हो ।
जिल्ला बजार अनुगमन समितिले त्यस्ता पाँच व्यवसायीलाई नियन्त्रणमा लिइ जरिवाना तिराएको जनाएको छ । रामग्राम नगरपालिका–२ को चार र सोही नगरपालिका वडा नं. ७ का आलूप्याज गोदामलाई गरी जम्मा दुई लाख ६० हजार रूपैयाँ जरिवाना तिराइएको हो ।
बढी मूल्य लिइरहेको भन्दै गुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वमा अनुगमन टोली खटिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, रामग्राम नगरपालिकाका प्रतिनिधि तथा सुरक्षाकर्मीको टोलीले बजार अनुगमन गरेको थियो ।







