१२ माघ, काठमाडौं । चार बर्षे कार्यकाल पुरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्तागठबन्धनले सातै प्रदेशमा जित्ने आश राखेको थियो । तर, एमालेलाई ‘क्लिनस्वीप’ गर्ने योजना प्रदेश १ बाट राष्ट्रियसभा सदस्यका एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पाले बिफल पारिदिए ।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का हेमराज राईले ४ हजार ३६८ मत पाउँदा एमाले उम्मेदवार शेर्पा ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्दै विजयी भए ।
१८ पदमा सत्तागठबन्धनका उम्मेदवार विजयी हुँदा एमालेले ७ सिट गुमाएको छ।
५९ सदस्यीय राष्ट्रिय सभामा हाल एमालेका अध्यक्षसहित २४ सांसद छन । ती मध्ये बुधबारको निर्वाचनसंगै एमालेको ७ वटा सिट घटेको हो । र अब राष्ट्रिय सभामा एमालेको अध्यक्षसहित १७ जना सांसद रहनेछन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा ७ वटै प्रदेशबाट ८ जनाका दरले ५६ सांसद निर्वाचित हुने र राष्ट्रपतिबाट ३ सदस्य मनोनीत गर्ने संवैधानिक व्यवस्था छ । मनोनित सांसद रामनारायण बिडारी पनि यहि फागुन २० गतेबाट बिदा हुँदैछन् । उनी नेकपा माओवादी केन्द्र समर्थित हुन । माओवादी केन्द्र सत्तागठबन्धनको एक घटक भएकाले उनको ठाउँमा गठबन्धनकै तर्फबाट अर्को पात्र सरकारको सिफारिसमा आउनेछन् ।
राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ बर्षको हुने भए पनि गोलाप्रथाबाट पहिलो पटकका लागि २ बर्षे, ४ बर्षे र ६ बर्षे कार्यकाल निर्धारण गरिएको थियो । सोही अन्तर्गत चार बर्षे कार्यकाल पुरा गरेर बिदा हुन लागेका १९ सिटका लागि बुधबार निर्वाचन भएको हो । जसबाट काँग्रेसका ६, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ५÷५, जनता समाजवादी पार्टीका दुई र राष्ट्रिय जनमोर्चाका एक जना निर्वाचित भए ।
चुनावी परिणामसंगै माओवादी केन्द्रले एक सिट बढाएर १५, नेपाली कांग्रेसले चार सिट बढाएर १०, एकीकृत समाजवादीले एक सिट बढाएर ८, जनता समाजवादी पार्टी (जसपा)ले २ सिट बढाएर ३ पु¥याएको छ । राष्ट्रिय सभामा एक सिट सहित राष्ट्रिय जनमोर्चाको पनि इन्ट्री भएको छ । हाल राष्ट्रिय सभामा रहेका स्वतन्त्र सांसद खिमलाल देवकोटा नेकपा (एकीकृत समाजवादी) समर्थित हुन ।
बुधबार भएको निर्वाचनबाट प्रदेश १ बाट नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा अल्पसंख्यकतर्फ र पाँचदलीय गठबन्धनबाट उम्मेदवार एकीकृत समाजवादीकी जयन्ती राई महिलातर्फ निर्वाचित भइन् ।
प्रदेश १ बाटै अन्यतर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गोपाल बस्नेत र एमाले गुरु बरालले समान ४,४८८ मतभार प्राप्त गरे । गोला तानेर बस्नेत निर्वाचित भए ।
मधेश प्रदेशबाट महिलातर्फ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्यतर्फ गठबन्धनबाट जसपाका मोहमद खालिद विजयी भए । बागमती प्रदेशबाट महिलातर्फ सत्तारुढ गठबन्धनका एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भए ।
गण्डकी प्रदेशबाट महिलातर्फ गठबन्धनबाट कांग्रेसकी कमला पन्त र दलिततर्फ गठबन्धनबाट माओवादी केन्द्रका भुवन सुनार तथा अन्यतर्फ गठबन्धनबाट माओवादीका सुरेश आले मगर विजयी भए । लुम्बिनी प्रदेशबाट महिलामा गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे, दलिततर्फ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका युवराज शर्मा निर्वाचित भए।
कर्णाली प्रदेशबाट महिलातर्फ गठबन्धनबाट कांग्रेसकी दुर्गा गुरुङ, अपाङ्गता वा अल्पसंख्यकतर्फ गठबन्धनबाट माओवादीका नरबहादुर विष्ट र अन्यतर्फ गठबन्धनका तर्फबट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा निर्वाचित भए । सुदुरपश्चिम प्रदेशबाट महिलातर्फ एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ माओवादी केन्द्रका जगतबहादुर पार्की र अन्यतर्फ कांग्रेसका नारायण दत्त मिश्र विजयी भए ।
फेरियो समिकरण
२०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा एमालेले २९, कांग्रेस १३, माओवादी १०, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमले २÷२ सिट जितेका थिए । पछि नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा बन्यो । र नेकपाले राष्ट्रिय सभामा स्पष्ट बहुमत पु¥याएको थियो ।
दुई वर्षे कार्यकालको गोला तानेका १८ सांसद २०७६ फागुन २० गतेबाट बिदा भए । उक्त १८ सिटका लागि २०७६ माघ ९ गते भएको निर्वाचन भएको थियो । उक्त निर्वाचनसम्म आइपुग्दा तत्कालिन नेकपाको राष्ट्रिय सभामा दुई तिहाइ बहुमत पुगेको थियो । राष्ट्रिय सभामा मनोनितसहित तत्कालिन नेकपाका ५० सांसद पुगेका थिए ।
तत्कालिन नेकपाको प्रदेश र स्थानीय तहमा रहेको उपस्थितिका कारण कांग्रेसले ७ सिट पनि गुमाएको थियो । राष्ट्रिय सभा सदस्यमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन । दुई वर्षे कार्यकाल पुरा गरेका सांसदहरु बिदा हुँदा राष्ट्रिय सभाका कांग्रेसका ६ जना सांसद बाँकी थिए । बाँकी ६ मध्ये आगामी माघ २० गतेबाट थप ३ जना बिदा हुँदै छन ।
बुधबारको निर्वाचनसम्म आइपुग्दा नेकपा सग्लो थियो भने कांग्रेस ३ सिटमा खुम्चने थियो । तर, नेकपा एकता भंग भएर एमाले पनि विभाजित हुँदा एमाले बाहेका दलहरुसंग गठबन्धन गर्दै अगाडि बढ्दा कांग्रेसले राष्ट्रिय सभामा चार सिट थपेर १० पु¥याएको छ ।
कांग्रेसले एक सिट गत जेठमा थपेको थियो । २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित भएका प्रदेश सभा सदस्य दिर्घ नारायण पाण्डे कांग्रेस प्रवेश गरेका थिए । दल त्याग गरेपछि रिक्त भएको पदमा भएको निर्वाचनमा कांग्रेसकै तर्फबाट पाण्डे नै निर्वाचित भए ।
यसरी कांग्रेसले चार सिट बढाएर १० पु¥याउँदै गर्दा प्रमुख विपक्षी एमालेले भने यहि पटक ७ सिट गुमाएको छ ।







