असोज ५, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्की र नवीन घिमिरे जस्ता व्यक्तिहरु लैजान नहुने नेताहरू बताउँछन् । कार्की पूर्व र घिमिरे निवर्तमान प्रमुख आयुक्त हुन् ।
नेकपाका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितको बुझाइमा कार्की हिम्मतिलो तर व्यक्ति स्वार्थ, समुह स्वार्थमा लागेर अख्तियारको दुरुपयोगमा केन्द्रीत भएका थिए । स्वच्छ छविका भनिए पनि नवीन घिमिरेले उत्कृष्ट काम गर्न नसकेको उल्लेख गर्दै उनले अब अख्तियार प्रमुख छान्दा लोकमान र नवीन घिमिरे जस्ता पात्रलाई नियुक्त नगर्न सरकारलाई सुझाव दिएका छन् ।
‘स्वच्छ छवि भएर मात्रै हुँदैन । हिम्मतिलो पनि चाहियो,’ पण्डित भन्छन्, ‘लोकमानसिंह हिम्मतिलो थिए । तर व्यक्ति स्वार्थमा केन्द्रीत भएर हिम्मतिलो हुनुको कुनै अर्थ छैन । प्राप्त अधिकार भन्दा माथि आफुलाई सोच्ने, सबैभन्दा बढी अख्तियारको दुरुपयोग लोकमानजी को पालामै भएको छ । त्यसकारण लोकमान चरित्रको व्यक्ति लान हुँदैन ।’
नविन घिमिरेबारे उनको टिप्पणी छ, ‘वहाँले पनि काम त गर्नुभयो तर अझै उत्कृष्टतापूवर्क गर्नुभएन ।’
आयोग गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लानुपर्दछ भन्ने बहस छ । यहि बेला पण्डितले यस्तो सुझाव दिएका हुन् ।
‘अख्तियारमा जाने व्यक्ति अनुभवी र देशलाई बुझेको हुनुपर्यो । संविधान र आफ्नो कर्तव्यलाई बुझेको हुन पर्यो । तर, लोभी, पापी, आत्मकेन्द्रीत, डरपोक वा मुख ताख्ने व्यक्तिको अख्तियारमा काम छैन,’ पण्डितले भने ।
‘अख्तियार प्रमुख छान्दा तीन कुरा हेरियोस्’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापा अख्तियारको नेतृत्व छान्दा सरकारले प्रमुख तीन कुरा हेर्नुपर्ने सुझाउँछन् । उनका नजरमा अख्तियार प्रमुखमा हुनुपर्ने तीन गुण यस्ता छन् :
पहिलो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्व गर्ने मान्छेको सार्वजनिक प्रतिष्ठामा प्रश्न नउठेको, प्रश्नहरूभन्दा माथि रहेको हुनुपर्यो । २० वर्षको अनुभव भएको भनेका छौं त्यो भनेको सार्वजनिक व्यक्ति नै हो । सार्वजनिक प्रतिष्ठा सबैभन्दा ठूलो पुँजी भएको हुनुपर्यो ।
दोस्रो– अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय हो जसको परिकल्पना सरकारले गर्ने गल्ती, कमजोरीहरूलाई सच्याउने हो । जुन कुरा अरु निकायले हेर्दैन, त्यो हेरेर शासकीय शुद्धता कायम गर्नुपर्छ भन्ने यसको उद्देश्य हो । त्यसकारण अख्तियारलाई लसपसबाट अलग राख्नुपर्छ । सरकारसँग र अरु जति पनि निकाय छन ती निकायहरूसँग अलगथलग राख्नुपर्छ । यो इच्छाशक्ति भएको व्यक्ति हुनुपर्दछ ।
तेस्रो– नियुक्ति हुनुभन्दा पहिला जुनसुकै खालको बुझाइ, जे सुकै भए पनि नियुक्ति लिएको क्षणबाट सम्पूर्ण धर्म अख्तियारको कानून अनुसारको भूमिका निर्वाह गर्न सक्ने व्यक्ति हुनुपर्दछ । अख्तियारको कानुनले दिएको भन्दा दायाँ–बायाँ, त्यो भन्दा अगाडि पछाडि केही पनि नभएको हुनुपर्यो । पर्दा खेरी आफ्नो बाउलाई पनि छानबिन गर्न सक्नुपर्यो । त्यो आँट भएको मान्छे हुनुपर्छ ।







