१७ माघ, काठमाडौं । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्। अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने चेतावनी पनि दिएका छन्।
‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊँ’, डा. भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्। देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’







