रेखा शाहकी “छातीभरि तिम्रै माया” (भिडियो सहित)

१३ वर्षअघि लोकप्रिय गायक तथा संगीतकार स्व. राम थापाको संगीत र रमा कार्कीको शब्द रचनामा रेकर्ड भएको गीत छातीभरि तिम्रै मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सिमसिमे पानीमा गायिका रेखा शाहले आफ्नो जन्मदिनको अवसर पारेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

१३ वर्ष अघि राम थापा अस्वस्थ रहेकै बेला उनको संगीतमा गायिका शाहले आफ्नो एल्बमका लागि यो गीत रेकर्ड गरेकी थिइन् । गीत रेकर्ड भएको केही समयपछि राम थापाको देहवसन भएको थियो । गायिका शाह भन्छिन्‘राम दाइका धेरै गीतमा कोरस गायन गरे पनि एउटा गीत भने गाउने अवसर मैले प्राप्त गरेकी थिएँ, उहाँ मेरो संगीतको गुरु पनि हुनुहुन्छ ।’

प्रेमभाव रहेको गीतको म्युजिक भिडियोमा भने गायिका शाहले आफैँ अभिनय गरेकी छिन् । सोफी सुनुवारको मेकअप, मिलन विश्वकर्माको सम्पादन तथा रुपेश थापाको छायांकन एवम् निर्देशन रहेको गीतका संगीत संयोजन फणिन्द्र राई हुन् ।

आधुनिक शैलीको यो गीतलाई फरक परिवेशमा पनि यसको मेलोडीका कारण दर्शक( स्रोताले मन पराउने विश्वास लिएको गायिका शाहले बताइन् । भिडियोलाई रेखा शाह फाउन्डेसनले निर्माण गरिएको हो भने भिडियो उनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।