१२ फागुन, काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले फेरि नेपालमा अमेरिकी अनुदान सहयोग परियोजना, एमसीसीबारे टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले नेपालस्थित अमेरिकी दूतावासले ५० करोड अमेरिकी डलर अनुदान ‘अमेरिकी जनताको तर्फबाट नेपालीलाई उपहार’ को रूपमा व्याख्या गरेको भन्दै ‘गिफ्ट प्याकेज कहिलेदेखि अल्टिमेटम सहित आउन थालेछ ?’ भनेर व्यंग्य गरेकी थिइन् ।
चिनियाँ विदेश मन्त्रालयको प्रेस ब्रिफिङमा उनले कसैले यस्तो ‘उपहार’ कसरी ग्रहण गर्न क्छ भनेर प्रश्न गर्दै यो उपहार हो कि ‘पान्डोरा बक्स’ हो भनेकी छिन् । उनले यो नेपालका लागि नेपाली उखानजस्तै, देख्दा राम्रो तर चपाउन गाह्रो हुनेछ भनेकी छिन् ।
चुनियाङले अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसीसी कम्प्याक्टको संसदीय अनुमोदन नभए यसले द्विपक्षीय सम्बन्ध प्रभावित हुनेछ भनेर दिएको अभिव्यक्ति जानकारीमा लिएको बताइन् ।
चीनले सदैव विकास सहायता पारस्पारिक सम्मानका आधारमा तय हुनुपर्ने तथा देशको सार्वभौमसत्ता र जनताको भावनाको पूर्ण रूपमा कदर हुनुपर्ने भन्दै उनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने बताइन् ।
यसमा कुनै पनि राजनीतिक स्वार्थ, धम्कीपूर्ण कूटनीति र निश्चय नै अरु देशको सार्वभौमत्तामा अतिक्रमण तथा स्वार्थी लाभको स्वार्थ जोडिएको हुनु नहुने चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले उल्लेख गरेकी छिन् । नेपालको निकटतम छिमेकी र विकास साझेदारको रूपमा चीनले नेपाली जनतालाई आफ्नो मुलुकको विकासको बाटो आफैं पहिल्याउन मद्दत गर्ने र नेपालको आर्थिक–सामाजिक विकासका लागि चीनले आफ्नो तर्फबाट अधिकतम सहयोग प्रदान गर्ने उनको भनाई छ ।







