२३ फागुन, काठमाडौं । अर्ली इलेक्सनको च्याप्टर क्लोज भएको छ । सत्ता गठबन्धन भित्र प्रतिनिधि सभाको निर्वाचन पाँच बर्ष नपुग्दै (अर्ली इलेक्सन) गर्ने विषयमा छलपल चलिरहेको भए पनि यस्तो संभावना सकिएको हो ।
नेताहरुका गठबन्धनभित्र अनुसार प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधिसभा अवरुद्ध गरिरहेका कारण अर्ली इलेक्सनमा जाने विकल्पमा छलफल चलेको हो । २३ भदौ २०७८ देखि संसदमा एमालेले अवरोध गर्दै आएको छ । माधव नेपाल सहित १४ जना सांसदको कारबाही कार्यान्वयन हुनुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने एमालेको माग छ । माग पुरा नभएसम्म संसद चल्न नदिने उसको अडान छ ।
यहि पेरिफेरिमा रहेर आइतबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रश्न गरे, ‘केपी ओलीको वितण्डा कति सहने ?’
आइतबार संसद भवन नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष नेपालले एमालेकै कारण प्रतिनिधि सभा विघटन गरेर स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्याकेजमै गर्नेबारे छलफल भइरहेको बताए ।
तर, अध्यक्ष नेपालको भनाइ उत्तिनै बेला सत्तागठबन्धनका अन्य नेताहरुले काटेका छन् । माधव नेपालको भनाइ छलफल चलिरहेको बेलाको भएको तर, अहिले अर्ली इलेक्सनको बहस सकिएर गैसकेको सत्तागठबन्धनकै नेताहरुले बताए ।
एमाले पनि प्रतिनिधि सभाको कामबारहीमा सहभागि भएको छ । संसदले महाअभियोग सिफारिस समिति गठन गर्दा एमालेले आफ्नो पार्टीका तर्फबाट समितिमा रहने सदस्यहरुको नाम पठायो । सिफारिस समिति गठन गर्ने निर्णय निर्णयार्थ पेश गर्दा विरोध गरेन । यो विषयलाई सत्तागठबन्धनका नेताहरुले एमाले संसदीय प्रक्रियामा सहभागी भएको रुपमा बुझेका छन् ।
बरु अब संसदको जारी अवरोध हट्ने र अर्ली इलेक्सनको बहस पनि टरेको विश्वास गर्छन कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडु । संसदीय प्रक्रियामा एमाले सहभागी भएको र सर्वोच्च अदालतको आदेशले पनि अर्ली इलेक्सनको च्याप्टर क्लोज भएको उनको भनाइ छ ।
अर्ली इलेक्सनको बहसलाई तन्काउने आधार नभएको बडु बताउँछन् । सरकार बन्दा सर्वोच्चले प्रतिनिधि सभाको पूर्ण कार्यकालको ब्याख्या गरेको थियो । सरकार बन्दाको ग्राउण्डलाई हेर्दा अब समेत अब अर्ली इलेक्सन हुने संभावना टरेको बडुले बताए ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका अनु्सार अब दुई कारणले अर्ली इलेक्सनको संभावना छैन् । एउटा– स्थानीय तहको निर्धारित चुनाव र अर्को मौसम ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेको छ । अब स्थानीय तहको निर्वाचन रोक्ने कुरा स्वमं दलहरु मान्न तयार छैनन् । स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधि सभाको अर्ली इलेक्सन गर्न मौसमले साथ दिँदैन ।
नेपालको भौगोलिक अवस्थिति अनुसार असार÷साउन महिना चुनावका लागि उपयुक्त ह्ँदेन । यी सबै कारणले प्रतिनिधि सभाको अर्ली इलेक्सनको च्याप्टर क्लोज भएको हो ।







