कुखुराको मासु प्रतिकेजी ४ सयभन्दा माथि, माग धेरै उत्पादन कम

२४ फागुन, काठमाडौं। ब्रोइलर कुखुराको मासुको मूल्य बढेर प्रतिकेजी ४ सय रुपैयाँ नाघेको छ। लगातार बढेको मूल्यले घट्ने संकेत दिएको छैन। मागको अनुपातमा उत्पादनले नपुगेको अवस्थामा लागत नै धेरै पर्न थालेको भन्दै व्यवसायीले भाउ बढाएका छन्।

अहिले कुखुराको मासु थोकमै किलोको ४०५ रुपैयाँ पुगेको छ। खुद्रामा ४२० देखि ४३० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।

दाना र ढुवानी भाडासँगै लागत महँगिनुको असरले कुखुराको मासु अझ महँगिने देखिएको व्यवसायीले बताएका छन्। दाना उत्पादक कारखानाहरुले कच्चा पदार्थ र इन्धनको मूल्य बढेको भन्दै दानाको भाउ कस्दै लगेका छन्। आफूलाई महँगो परेको पोल्ट्री व्यवसायीले बिक्री मूल्यबाट असुलेका छन्। जसको सोझो असर उपभोक्तालाई परेको छ।

जिउँदो कुखुराको मूल्य १० रुपैयाँले दरले बढ्दै प्रतिकेजी ३ सय नजिक पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जनाएको छ। संघले नयाँ मूल्य कायम गरेसँगै बजारमा जिउँदो कुखुरा प्रतिकेजी २ सय ९० रुपैयाँ पुगेको छ। यतिबेला आइपुगेको मूल्यमा गत वर्ष पनि किनबेच भएको थियो। तर उत्पादन बढेसँगै त्यो बेला मूल्य घटेको थियो।

यस अघि जिउँदो कुखुरा प्रतिकेजी ३ सय १५ रुपैयाँसम्म पुगेको व्यवसायीहरुले बताएका छन्। कोभिडका कारण मागका अनुपातमा आपूर्ति बढेको छैन। उत्पादन घट्दा गत वर्ष मूल्य पनि उच्च भएको थियो।

त्यस्तै, तयारी मासुको मूल्य प्रतिकेजी ४ सय ५ रुपैयाँ भएको छ। दुई साताअघि प्रतिकेजी ३ सय ६० रुपैयाँमा बिक्री भएको मासु लगातार मूल्य बढ्न थालेपछि पुनः प्रतिकेजी ४ सय रुपैयाँमाथि पुगेको संघले जनाएको छ। यस्तै अवस्था रहे मासुको मूल्य गत वर्षको अवस्थामा पुग्ने अनुमान गरेका छन्। गत वर्ष मासुको मूल्य प्रतिकेजी ४ सय ५० रुपैयाँसम्म पुगेको थियो।