उदयपुरमा १ हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिनुका साथै गाँजा ढुवानीमा प्रयोग गरिएको बोलेरो गाडीसमेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिकाका विभिन्न स्थानबाट गाँजा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गल र चौदण्डीगढी नगरपालिका–१, चारघरेबाट गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गए राति कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जङ्गलमा पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा फेला परेको थियो। उक्त गाँजा तिनतलेबाट सिराहातर्फ लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका–२ का २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, चौदण्डीगढी नगरपालिका–१ स्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा आज बिहान पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरो गाडीबाट २९ वटा बोरामा राखिएको ९४० केजी ४४० ग्राम गाँजा बरामद गरिएको हो।

नियन्त्रणमा लिइएका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।