सामूहिक बलात्कारका दुई अभियुक्त १२ वर्षपछि प्रहरी नियन्त्रणमा

असोज ६, इलाम ।
सामुहिक बलात्कारमा संलग्न रहेका दुई जनालाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो ।

फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । झापाको साधुहोली जंगलमा २०६४ सालमा एक युवतीलाई सामूहिकरूपमा जबर्जस्ती करणी गरी उनीहरू फरार भएका थिए ।

उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । उनका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतले ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तिर्न सजाय सुनाएको थियो ।

दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।