तीन दिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आइपुगे काठमाडौं

११ चैत्र, काठमाडौं । चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। वाङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले स्वागत गरेका छन् ।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो। चीनका स्टेट काउन्सिलरसमेत रहेका यी यसअघि पनि नेपाल आइसकेका छन्।

तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

शनिबार परराष्ट्र मन्त्री नारायण खड्का र यी नेतृत्वका दुई टोलीबीच औपचारिक वार्ता हुनेछ। उक्त वार्ताका क्रममा केही सम्झौताहरू पनि हुने अपेक्षा गरिएको छ।

चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।

तीन दिने भ्रमण सकेर यी आइतबार स्वेदश फर्कने छन्।

नेपाल आउनुअघि उनले पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरेका थिए।