बालुवाटारमा बनाइएको बंकरभित्र बसेर ओलीले गोप्य छलफल गर्थे : माधव नेपाल

१३ चैत्र, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गोग्य वार्ता गरेको आरोप लगाएका छन् ।

पार्टी निकट पत्रकारहरुलाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग बंकरभित्र बसेर गोग्य वार्ता गरेको आरोप लगाएका हुन् ।

नेपालले भने, ‘बालुवाटारमा घर बनाए । त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् रु किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो।’ बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको उनले आरोप लगाए ।

बालुवाटारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग हप्तामा दुई दिन भेटेर स्थानीय चुनावमा कुन–कुन न्यायाधीशलाई कहाँ कहाँ खटाउनेदेखि प्रहरीका मान्छेलाई बोलाएर कुन प्रहरीलाई कहाँ खटाउने सबै वर्कआउट भइसकेको नेपालले आरोप लगाए । उनले एमाले अध्यक्ष ओलीले गरेका गलत कामको सूची बनाएर सार्वजनिक गर्न उनले पार्टी निकट पत्रकारहरुलाई निर्देशनसमेत दिए ।