धरौटी बुझाएर रिहा भए ग्रिनलाइनका अग्रवाल, भाइ अभिषेक भने अझै फरार

काठमाडौं । बैंकिङ कसुरमा पक्राउ परेका ग्रीनलाइनका संचालक अमित अग्रवाल धरौटीमा बुझाएर रिहा भएका छन्।उनले ४५ लाख धरौटी बुझाएर रिहा भएकाे उच्च अदालत पाटनकाे प्रशासन शाखाले जनाएकाे छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स भएको उजुरी परेपछि अग्रवाललाई पक्राउ गरेको थियो।

बैंकको मात्रै झण्डै एक अर्ब ऋण लिएका अग्रवाल परिवारसहित सम्पर्कविहीन भएका थिए। झण्डै एक महिनापछि ऋण मिलाउन सक्ने भन्दै अग्रवाल नेपाल फर्किएका थिए। तर, अग्रवाल नेपाल आएलगत्तै चेक बाउन्स भएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उच्च अदालतले फागुन २० गते अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको थियो। केही दिनपछि धरौटी बुझाएर उनी तारिकमा रिहा भएका हुन्।

उनका भाइ अभिषेक अग्रवाल भने अझै फरार रहेका छन्। एउटै मुद्दा अमित र अभिषेशकलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा बुझाइएको छ। लगाउ मुद्दा बनाएर अभिषेकलाई पनि प्रतिवादी बनाइएको छ।