सत्तारूढ पाँच दलीय गठबन्धनप्रति एमाले अध्यक्ष ओलीको नयाँ नयाँ आक्षेप

२९ चैत्र, काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् ।

सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्पणी गरेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धन बालुवाको लड्डुजस्तै भएकाले आफूहरूलाई कुनै फरक नपर्ने बताए ।

देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।

यसैबीच चुनावी कार्यक्रममा सोमबार बझाङ पुगेका एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई ‘लुटमण्डली’को संज्ञा दिएका छन् ।

आगामी निर्वाचन व्यवस्थित होस् भनेर आफूहरूले सहेर बसेको बताउँदै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले मुलुकमा लुट मचाएको आरोप लगाए ।

उनले आगामी निर्वाचनमा देश बिगार्ने एकातिर र देश बनाउने एकातिर हुने बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञासमेत दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । राजधानी दैनिकबाट