आगामी ३ दिन देशभरका नदीमा बाढी आउनसक्‍ने

पछिल्लो ६ घण्टा झापा–इलाम क्षेत्रमा अत्याधिक वर्षा, सचेत रहन विभागको आग्रह

७ असोज, काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पछिल्लो ६ घण्टा झापाको चन्द्रगढी, ईलाम–झापाको सीमा मैनाचुली लगायत झापाको धेरै स्थानमा ठुलो धेरै पानी परेको र अझै पर्नसक्‍नेप्रति विभागले सचेत गराएको छ ।

मेची, निन्दा, बिरिङ, मावा–रतुवा, कन्काई नदीमा बाढी आउन सक्न‍े अनुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले ती नदीको तटिय क्षेत्रमा मध्यान्ह १२ बजेसम्म सतर्क रहन अनुरोध गरेको छ।

आगामी ३ दिन देशभरका नदीमा बाढी आउनसक्‍ने भन्दै नदी आसपासका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरीएको छ ।