६ वैशाख, काठमाडाैँ । स्थानीय चुनावमा मतदान हुन २४ दिन बाँकी छ । चुनावमा पाँच दलीय सत्तागठबन्धनले तालमेल गर्ने निर्णय गरेका छन् । तर, अझै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासहित वडा तहमा भागवण्डाको कुरा मिल्न बाँकी छ । नेकपा एमाले अधिकांश स्थानीय तहमा उम्मेदवार चयन गरेर घरदैलो अभियानमा गैइसक्दा पनि सत्तारुढ पाँच दलीय गठबन्धन भने भागवण्डा मिलाउनमै केन्द्रीत छ ।
महानगरको भागवण्डा मिलाउन भन्दै आइतबार र सरकार लगातार बसेको सत्ता गठबन्धनका दलहरुका नेता सम्मिलित संयन्त्रको बैठक कुरा मिल्न नसकेपछि मंगलबार फेरि बस्ने गरी सकियो ।
सरकारका प्रवक्ता समेत रहेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार आइतबार कहाँ कहाँ कुन नुन दलको दाबी छ र त्यसको आधार के हो ? भन्ने प्रश्नको वरिपरि छलफल केन्द्रीत भयो ।
‘हामीले खडा गरेका उम्मेदवारलाई जित कसरी सुनिश्चित गराउने र कसलाई उम्मेदवार खडा गर्ने बारेमा छलफल भयो । छलफल चलिरहेको अरु एक दिन छलफल चल्ने भयो’ कार्कीले जानकारी दिए ।
कसको कहाँ दाबी ?
सरकारको नेतृत्व गरिरकेको कांग्रेसले काठमाडौँ, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको छ ।
भरतपुर महानगरलाई प्रतिष्ठाको विषय बनाएपनि दाबी कांग्रेसले गठबन्धनको बैठकमा दाबी गरेको छैन् ।
नेकपा माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा नेतृत्व दाबी गरेका छन् ।
यस्तै, ११ उपमहानगरपालिकामध्ये काँग्रेसले ७ वटा उपमहानगरको नेतृत्व दाबी गरेको छ ।
जसमा बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा छन् ।
नेकपा माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकाको नेतृत्व दाबी गरेको छ ।
एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी उपमहानगरपालिका नेतृत्व दाबी गरेको छ ।
जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ ।
अघि अघि एमाले
सत्तारुढ गठबन्धन भागवण्डामा केन्द्रीत हुँदा नेकपा एमाले उम्मेदवार चयन गरेर घरदैलो अभियानमा गइसकेको छ ।
घरदैलो अभियानसँगसँगै स्थानीय रणनीति तय गर्नमा एमाले केन्द्रीत छ । यही मेसोमा साना दलहरुलाई साथमा लिने र कांग्रेस र माओवादी केन्द्रकै असन्तुष्ट समुहसँग चुनावी तालमेल गर्नमा एमाले केन्द्रीत भएको छ । पछिल्लो उदाहरण हो– तनहुँमा गोविन्दराज जोशी र एमालेबीच तालमेलको सहमति ।
जोशी एमालेका बरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रका नेता हुन् । गत संघीय चुनावमा भ्रष्टाचार मुद्दा लागेका कारण उनको उम्मेदवारी रद्ध भएको थियो । उम्मेदवारी रद्ध भएपछि जोशीले पौडेललाई असहयोग गरेका थिए । सोही कारण उनी पार्टीबाट निष्कासनमा परेका छन् ।
यो पटक उनले छोरा दिपकराजलाई ब्यास नगरपालिकाको मेयर बनाउन चाहेका थिए । तर, छोराको नाम मेयरका लागि सिफारिसमै नपरेपछि जोशीले एमालेसँग तनहुँजिल्लाभर एमालेसँग तालमेल गर्ने सहमति गरेका हुन् ।
एमालेले काठमाडौंकै मेयरको उम्मेदवार चयन गर्न भने बाँकी छ । मेयरका लागि हालका मेयर विद्यासुन्दर शाक्यसहित केशव स्थापित, रामवीर मानन्धर, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिसमा परेको छ ।
भरतपुर महानगरपालिकाको मेयरको भने एमालेले विजय सुवेदीलाई उम्मेदवार नेता बनाउने निर्णय गरिसकेको छ ।
एमालेले पोखरा महानगरपालिको मेयरका लागि पुष्पज्योति ढुंगाना, दीपक पौडेल र मीनाकुमार गुरुङको नाम सिफारिस गरेको छ । तीन जनामध्ये ए जनाको नाम केन्द्रले टुंगो लगाउनेछ ।
विराटनगर महानगरपालिकाको मेयरमा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ ।
वीरगन्ज महानगरपालिकाको मेयरमा एमालेले विजय सरावगीलाई उम्मेदवार बनाएको छ ।
एमालेलेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारको नाम मात्रै सिफारिस भएको छ । उनी घरदैदैलो अभियानमा जुटिसके ।
उपमहानगर र नगरपालिका तथा गाउँपालिकामा पनि उम्मेदवार चयन गरेर एमाले चुनाव जित्ने केन्द्रीय रणनीति तय गर्नमा केन्द्रीत भएको छ ।
यसका लागि एमालेले सोमबार सचिवालय बैठक बोलाएर छलफल ग¥यो ।







