एमाले–माओवादी एकता बाध्यता थिएन, मेरो च्वाइस थियो : ओली

‘१९ बुँदे प्रचण्डको आरोपपत्र मलाई थुन्ने षडयन्त्र’

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता स्मरण गरेका छन् ।

बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले–माओवादी एकता बाध्यता नभएर आफ्नो चाहनामा सम्भव भएको उल्लेख गरे । ‘कम्युनिस्टहरुको एकता एकीकरण कुनै बाध्यता थिएन । तर, मेरो च्वाइस थियो’ अध्यक्ष ओलीले भने ।

२०७४ सालको स्थानीय तहको चुनावमा छुट्टाछुट्टै लडेका नेकपा एमाले र माओवादी केन्द्र ०७४ कै प्रदेश र संघीय चुनावमा तालमेल गर्न पुगे । चुनावपछि २०७५ साल जेठ ३ गते पार्टी एकता नै गरे । तर, नाम सम्बन्धी विवादमा फैसला गर्दै सर्वोच्च अदालतले २३ फागुन २०७७ मा एमाले र माओवादी केन्द्रबीचको एकता नै भंग गरिदियो ।

पार्टी एकता प्रयास, एकता र एकतापछि झण्डै दुई तिहाइ बहुमतको नेतृत्वको सरकार चलाएको र त्यसबीचमा तत्कालिन नेपाल कम्यसनिस्ट पार्टीभित्रको अन्तरसंघर्षबारे चर्चा गर्दै अध्यक्ष ओलीले एकम्युनिस्ट एकता आफ्नो चाहना रहेको स्मरण गरेका हुन् ।

सक्दासम्म आफुले एमाले–माओवादी एकता जोगाउन प्रयास गरेको अध्यक्ष ओलीको भनाइ छ । उनले भने, ‘धेरै कोसिस गरेँ मैले एकता जोगाउनलाई तर, सम्भव भएन ।’

‘प्रचण्डको १९ बुँदे पत्र मलाई थुन्ने षडयन्त्र’

अध्यक्ष ओलीले आफुले अल्पमतमा परेर पनि कम्युनिस्ट एकताका लागि आफुले पहल गरेको जिकिर गरे ।

‘आफु एक तिहाइ भन्दा कम हुने कुरा बुझ्दा बुझ्दै मैले एकता एकीकरणको काम अगाडि बढाएँ । तर, एकतापछि नै षडयन्त्र सुरु भयो’ ओलीले भने ।

एकतापछि पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल लगायतले आफुलाई एक्ल्याएर पार्टीबाट निकालेर प्रधानमन्त्रीबाट हटाउनेतिर लागेको उनको भनाइ छ ।

आफुलाई पार्टी अध्यक्षबाट मात्रै नभएर प्रधानमन्त्री हुँदादेखि नै फौजदारी अभियोग लगाएर थुन्ने योजनासहित १९ बुँदे पत्र आएको उनले बताए ।

‘फौजदारी अभियोग पार्टीले लगाएर, पार्टीको स्थायी कमिटीले पास गरेर, केन्द्रीय कमिटीले पास गरेर अगाडि बढेपछि मुद्धा चलाएर थुन्दा त त्यो त दुनियाँलाई हो जस्तो हुने भयो नि’ प्रचण्डले तत्कालिन नेकपाको सचिवालय बैठकमा पेश गरेको १९ बुँदे पत्रबारे अध्यक्ष ओलीले टिप्पणी गरे ।

आफुलाई थुन्नेसम्मको षडयन्त्र चिर्दै पार्टी र संगठन जोगाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको प्रष्टीकरण छ ।

‘एमाले र माओवादीको एकता बस्तुत कायम रहेन । त्यसलाई कायम राख्ने हो भने फेरि जनतामा गएर जनादेश लिएर आउनुपर्यो भनेर प्रतिनिधिसभा विघटन गरेँ । त्यो लोकतान्त्रिक नै थियो’ अध्यक्ष ओलीले भने ।

प्रचण्डको पार्टी कब्जा गर्ने कुरा समाप्त पारेर संगठन सुदृढिकरण गर्नका लागि प्रतिनिधिसभा विघटनको विकल्पमा गएको यथार्थता बुझेर आफ्ना अभिव्यक्तिहरु राख्न नेता÷कार्यकर्तालाई उनको आग्रह छ ।

भीम रावल र घनश्याम भुसाल लगायत १० बुँदे सम्झौता गरेर एमालेमै बसेका नेताहरुले प्रतिनिधिसभा विघटन गलत भएको बताउँदै आएका छन् । उनीहरुतर्फ लक्ष्ँित गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनलाई भूलचूकले पनि गलत नभन्न निर्देश गरे ।

‘केही साथीहरू मौका पाउँनासाथ प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ’ ओलीको भनाइ छ ।

चुनौती स्वीकारेर मुकाविला गर्न तयार

एमाले अध्यक्ष ओलीले एमाले र आफुना विरुद्ध चुनौती रहेको स्वीकारे । आसन्न स्थानीय तहको निर्वाचनमा एमाले एकातिर र पाँच दल अर्कोतिर भएको उल्लेख गर्दै उनले चुनौती स्वीकारेर मुकाविला गर्न तयार रहेको बताए ।

‘एमाले एकातिर, गठबन्धन अर्कोतिर छ । हाम्रा अगाडि चुनौतीहरु छन् । व्याधानहरु पैदा गर्न खोजिएको छ । र ती चुनौतीहरुको मुकाविला गर्न तयार छौं’ ओलीको भनाइ छ ।

एमालेको इतिहासमा सबैभन्दा धेरै संगठन विस्तार पछिल्लो समय हुनु, संगठन गतिशिल र पार्टी एकतावद्ध हुनु एमालेको चुनाव जित्ने आधार भएको अध्यक्ष ओली बताउँछन् ।

पाँच दलीय गठबन्धनसँग एमाले र आफुलाई गाली गर्ने मात्रै एजेण्डा भएको तर, एमालेसँग देश बनाउने दृष्टिकोण रहेको भन्दै उनले देश बनाउने दृष्टिकोण बोकेका कारण आफनो पार्टी ठूलो रहिरहने जिकिर गरे ।

‘माधव नेपालको भाषण सुन्नुहुन्छ एमालेलाई सिध्याउने ! कठैबरा माधव नेपालले एमाले सिध्याउने ?’ ओलीले भने, ‘एक पटक त एमालेको सूर्य चिह्न पत्तासाफ हुने भयो रे । सुर्यमा पत्ता नै हुँदैन के को साफ हुनु ?’