काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने भएको छ। यसअघि भदौ २४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी भए पनि रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मिति सारिएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत देशभरका ६ हजार ७४३ वडामा असोज ३ र ४ गते अधिवेशन गरिने जानकारी दिएका छन्। सोही क्रममा क्षेत्रीय प्रतिनिधिसमेत चयन हुनेछन्।
निर्वाचन समितिका अनुसार असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ। त्यस्तै, असोज १० गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तोकिएका निर्वाचन अधिकृत र स्थानीय तहका पार्टी संरचनासँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने संयोजक खड्काले बताएका छन्।
यसैगरी, नेपाली जनसम्पर्क समितिका बाँकी अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने तयारी छ। जिल्ला र प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका भने दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।





