असोज ८, काठमाडौं ।
रसुवागढी नाका साताभित्रमा सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले बुधबार एक कन्टेनर स्वास्थ्य सामग्री मितेरी पुलसम्म ल्याइदिएको थियो ।
रसुवा भन्सार कार्यालयका अनुसार उक्त कन्टेनरमा बालबालिकालाई लगाइने खोपका सिरिञ्ज छन् । बिहीबारदेखि दैनिक पाँच कन्टेनर सामान पठाउने जानकारी चिनियाँ पक्षले नेपाली पक्षलाई दिएको सरकारी अधिकारीहरूको भनाइ छ ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बुधबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले निरन्तर यस विषयमा कुटनीतिक संवादका क्रममा रहेको भन्दै छिट्टै नाका सहज गरिने बताएका थिए । उनले साताभित्र सामान ल्याउन लैजान सहज हुनेगरी सम्झौता भइसकेको बताएका थिए ।
साताभित्रमा सबै सहज हुने उनको भनाइ थियो । पछिल्लो समय माघ मध्यदेखि बन्द भएको नेपाल चीन सीमाना कोरोना, प्राकृतिक प्रकोप लगायतको कारण देखाउँदै चिनियाँ पक्षले खोल्न आनाकानी गरिरहेको थियो ।







