तीन जनामाथि घरेलु हतियार प्रहार, आरोपित फरार

असोज ८, ताप्लेजुङ ।
जिल्लाको सिरिजङ्घा गाउँपालिकामा एक युवकले आफ्ना दुई भाइ र काकीलाई घरेलु हतियार प्रयोग गरी घाइते बनाएका छन् । उक्त गाउँपालिकाको वडा नंं ८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।

बुधबार राति स्थानीय २२ वर्षीय लाक्पा भोटेले नजिकैका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र अर्का १८ वर्षीय छिरिङ भोटेलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका हुन् । तीनै जनालाई घरेलु हतियार बाम्फोकले टाउको, गर्धनलगायत भागमा प्रहार गरी घाइते बनाएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घटनापछि लाक्पा भने फरार छन् । गम्भीर घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य संस्थामा उपचार भईरहे पनि स्थिति जटिल बन्दै गएको छ । यहाँ उपचार सम्भव नदेखिएकाले हेलिकप्टर चार्टर गरी अन्यत्र लैजाने तयारी भईरहेको स्थानीय पेम्बा भोटेले जानकारी दिए ।

घाइते फुटि भोटे लाक्पाकी ठुलीआमा हुन् भने पाशाङ तिनै ठुलीआमाकी छोरा हुन् । अर्का छिरिङ भने काकाको छोरा रहेको स्थानीयको भनाइ छ । बेलुकी ठुलीआमाका घर पुगेका लाक्पा त्यहीँ खाना खाएर बसेका थिए ।

त्यसपछि अचानक हतियार प्रहार गरी घाइते बनाएको स्थानीयले बताएका छन् । घटनाका सम्बन्धमा बिस्तृत विवरण आउन बाँकी छ । घटना स्थलमा प्रहरी चौकी याम्फुदिनबाट प्रहरीको टोली पुगेको छ ।