असोज ८, बुटवल ।
यहाँको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गते भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको हो । यसैगरी कोरोना सङ्क्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका कपिलवस्तु बुद्धभूमि नगरपालिका वडन नं. ६ का ५० वर्षीय पुरुषको पनि बिहीबार बिहान मृत्यु भएको थापाले जानकारी दिए ।
उनी लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका थिए । उनमा सङ्क्रमण पुष्टि भएपछि असोज १ गत्ते कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ बाट भेन्टिलेटरमा राखिएको थियो । सोही क्रममा आज बिहान ती पुरूषको मृत्यु भएको हो । (रासस)







