तिनाउ र नारायणीमा पानीको बहाव खतरा तहमा

असोज ८, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले तिनाउ र नारायणी नदीमा पानीको बहाव उच्च रहेको जनाएको छ । बिहीबार बिहान बुटवलको तिनाउ र चितवनको देवघाट तथा नारायणी पुलवरपर पानीको सतह बढेको छ ।

सोही कारण ती स्थान वरपर सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ खोलाको जलसतह बिहान ६ बजेर २० मिनेट जाँदा झन्डै ५ दशमलव ५९ मिटर पुगेको छ । ५.६ मिटर पुगेमा त्यसलाई खतरा मानिन्छ ।

त्यसैकारण खोलाको तटीय क्षेत्र र आसपास सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । ती क्षेत्रमा डुबान र बाढीको खतरा छ । आज दिनभर नै वर्षा हुने भएकाले ती स्थान वरपरका बस्ती सतर्क रहनुपर्ने विभागले बताएको छ ।

यस्तै बिहीबार बिहान सवा ६ बजे नारायणी नदीको जलसतह ११. १३ मिटर मापन गरिएको छ । त्यहाँ ११ मिटरलाई सतर्कता तह मानिन्छ । जलसहत बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

देवघाटमा भने ६ बजेर २५ मिनेट जाँदा नारायणीले सतर्कता तह गरेको छ । उक्त समयमा त्यहाँ सतर्कता तह मानिने ७.३ मिटरलाई पार गरेर जलसतह ७.८५ मिटरमा पुगेको छ ।

देशका विभिन्न भागमा सोमबारदेखि वर्षा भइरहेका कारण यी खोलासहित अन्य खोलाको पनि जलसतह बढेको छ । विभागले सोमबारबाट हावाहुरी र चट्याङसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।