१९ जेठ, काठमाडौं । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले आज एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्री राईले प्रदेश नं. १ मा सरकारले पिसिआर पद्धतिबाट ५० हजार मानिसको परीक्षण गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।
तिब्बत सरकारबाट प्राप्त भएको सहयोग सामग्रीको उपयुक्त र प्रभावकारी ढङ्गले प्रयोग गर्ने बताउँदै मुख्यमन्त्री राईले कोरोनाको उपचारका लागि सरकार हरतरहको प्रयास जारी राखेको छ भन्नुभयो ।







